बाँके– धान र तोरी मनग्य फल्ने फाँटहरु, वनजङ्गल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको यो ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।


ADVERTISEMENT


पाँच वर्षअघि माछाको ठेक्का रद्द गरी संरक्षण थालिएको सत्खलुवा तालमा अहिले डुङ्गा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको छ । तालकै कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा तालमा पर्यटक डुङ्गामा सयर गर्न लालायित हुन्छन् । तालमा पानी खान आउने जङ्गली जनावरको अवलोकनका लागि पनि पर्यटक आउने गरेका स्थानीयवासी बताउँछन् ।


ADVERTISEMENT

# # #


निकुञ्जभित्रका चुरे पहाडका सातवटा खोलाको पानी जम्मा भएर बनेकाले यो तालको नाम सत्खलुवा राखिएको बूढापाका बताउँछन् । जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको यस ताल वरपर विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जङ्गली जनावरको बसोबास छ । हिउँदको समय विशेष गरी चैत–वैशाखको खडेरीमा जङ्गली जनावर तिर्खा मेट्न यो तालमा आउने गर्छन् । भर्खरै संरक्षणको शुरुआत गरिएको भए पनि हाल ताल वरपर रैथाने चराका साथै आगन्तुक चराको पनि सङ्ख्या बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

यस तालमा संसारबाट लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । साठी बिघा क्षेत्रफलमा फैलिएको पूर्व–पश्चिम राजमार्गमा पर्ने बैदीचोकदेखि झण्डै ४ किलोमिटर उत्तरपूर्वमा रहेको सत्खलुवा ताल संरक्षणमा स्थानीयवासीको सक्रियता निकै बढेको छ । स्थानीयवासीको सक्रियतासँगै अहिले त्यहाँ घुम्न जानेहरुको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय स्थानीय बासिन्दाले संरक्षण र प्रचारप्रसारमा जोड दिन थालेपछि पर्यटकहरुको आवागमन पनि बढ्न थालेको बताउनुहुन्छ, सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाईं ।

“विगतमा माछापालन र सिँचाइका लागि प्रयोग हुँदै आएको यस तालको दुई वर्षदेखि पूर्ण संरक्षणका लागि लागिपरेका छौं,” उनी भन्छन् – “अहिले माछा मार्न र सिँचाइमा पूर्ण बन्देज लगाइएको छ ।” सत्खलुवा तालको सहायक तालका रुपमा नजीकै सपदुवा र सतञ्ची ताल पनि छन् । ती ताललाई पनि संरक्षण गरिएको छ । ताल संरक्षण गरे वातावरण जोगिने, जीवजन्तुको संरक्षण हुने र स्थानीयवासीले पनि लाभ लिनसक्ने भएकाले संरक्षणमा जुटेको चापागाईंको भनाइ छ । खुला चरिचरनको रुपमा रहेको ताल वरपरको वनलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरेर स्थानीयवासीकै पहलमा तारबारसमेत गरिएको छ ।

तारबार निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद अधिकारीका अनुसार नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदान गरी रु २८ लाख २८ हजारको लागतमा ताल तथा ताल वरपरको चरिचरन क्षेत्र संरक्षणका लागि तारबारसमेत गरिएको छ । चैत–वैशाखको खडेरीका बेला बर्दिया राष्ट्रिय निकुन्जदेखि चुरे क्षेत्रका जीवजन्तुको पानी खाने ठाउँ सत्खलुवा ताल नै हो । ताल र आसपासमा बाघ, गैंडा, हात्ती, सालक, अजिङ्गर र विभिन्न जातका चरा अवलोकन गर्न सकिन्छ । सत्खलुवा ताललाई सरकारी पक्षबाट संरक्षित क्षेत्रको रुपमा घोषणा गरिनुपर्ने स्थानीयवासीको माग छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषलगायतले केही सहयोग गरे पनि पर्याप्त नभएको संरक्षण समितिका अध्यक्ष चापागाईंको गुनासो छ । उनले भने – “हामीले आफ्नै पहलमा यतिसम्म गर्न सकेका छौं । सरकारी निकायबाट सहयोग नहुँदा ताल संरक्षणका लागि सोचेअनुसार गर्न सकिरहेका छैनौं । राज्यले नै यसको संरक्षणमा ध्यान दिनुपर्छ ।” बर्दियाको चिनारीकै रुपमा रहेको सत्खलुवा ताल हेर्न र चरा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।

पर्यावरणीय र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर यस तालको बेलैमा संरक्षण गरी उजिल्याउन राज्यको भूमिका जरुरी रहेको स्थानीयवासीको भनाइ छ । अहिले यो ताल वरिपरि दैनिक वनभोजका लागि पुग्नेहरुको घुइँचो छ । जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेको ताल वरपर निकुञ्जका जङ्गली जनावरको समेत बासस्थान बढ्दै गएको छ । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीमा पानी खान आउने जङ्गली जनावर सजिलै हेर्न पाइने हुँदा यो तालप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासीले गाउँदेखि तालसम्म साप्ताहिक रुपमा सरसफाइसमेत गर्दैआएका छन् ।

तालमा फुल्छ रातो कमल

पौराणिक कथानुसार देवीदेवताले मान्छेसँगै खेल्दै हराउने अर्थात् सत्पताउने भएकाले सो तालको नाम सतपटुवाल रहेको हो । सतपटुवाल शब्द अपभ्रंस भएर सत्खलुवा नाम रहन गएको स्थानीय बूढापाकाहरुको भनाइ रहेको छ । बाह्रै महिना पानी नसुक्ने प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेको यस तालमा दुर्लभ रातो कमलको फूल फुल्ने गर्दछ । पर्यटकहरु रातो कमलको फूल हेर्ने र तस्वीर खिँचाउँदै रमाउने गरेका छन् ।

पर्यटक व्यवस्थापन गर्न होमस्टे

ताल हेर्न र चराहरुको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यवस्थापनका लागि स्थानीयवासीले दुई वर्षयतादेखि घरबास (होमस्टे) सञ्चालन गरेका छन् । होमस्टेले स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पुग्नाका साथै पर्यटकहरुलाई घुमफिरपछि बास बस्न सहज बनाइदिएको होमस्टे सञ्चालक सुरेश आचार्यले बताए । सत्खलुवा ताल नजीकै रहेको खैरेनी गाउँमा अहिले १० वटा होमस्टे सञ्चालित छन् । ताल र पशुपक्षी हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो होस् भनेर खैरनीमा स्थानीय बासिन्दाले होमस्टे सञ्चालन गरेको आचार्यले बताए ।

थारु बहुल क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक वेशभूषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्य, खैंजडीमा भजनदेखि देउडासम्ममा गीत गाएर मनोरञ्जन दिने गरिन्छ । जिल्लाकै दोस्रो ठूलो जैविक विविधतापूर्ण सत्खलुवा ताल नजीक बस्ने स्थानीय बासिन्दामा साँस्कृतिक र जातीय विविधता पाइन्छ । ताल संरक्षणसँग जोडिएका कामले ताल मात्रै होइन, थारुलगायत अन्य समुदायका संस्कृतिको संरक्षणसमेत भैरहेको छ । खैरेनीमा थारु समुदायका चार र बाहुन क्षेत्री समुदायका छ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।

स्थानीय बासिन्दाको सक्रियताका कारण सत्खलुवा ताल पर्यटकीय स्थलमा परिणत भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । राजमार्ग नजीकै भएकाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने क्रममा पर्यटकहरु तालको अवलोकनका लागि पुग्ने गरेका छन् । सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिले २०७२ पुसदेखि ताल घुम्नका लागि डुङ्गाको व्यवस्था गरेको छ । डुङ्गा सञ्चालनमा आएपछि अहिलेसम्म करीब २० हजार आन्तरिक तथा बाह्य पर्यटकले तालमा सयर गरिसकेका संरक्षण समितिले जनाएको छ ।

संरक्षण समितिले ताल क्षेत्रमा प्रवेश गरेबापत १० र डुङ्गा चढेबापत २५ रुपैयाँ शुल्क लिने गरेको छ । तालबाट उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरिएको छ । सत्खलुवा क्षेत्रमा होमस्टेसमेत सञ्चालनमा आएपछि ताल अवलोकनमा आउने पर्यटकको सङ्ख्या अझ बढेको छ । होमस्टे सञ्चालक शिवप्रसाद अधिकारीका अनुसार पहिले बास बस्ने व्यवस्था नहुँदा पर्यटकहरु कम आउने गरे पनि होमस्टे सञ्चालनपछि पर्यटकको आगमन बढेको छ । – काशीराम शर्मा/रासस