काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले रुकुम पश्चिम जिल्लामा रहेको चौरजहारी अस्पतालमा इमर्जेन्सी विभाग अस्पताल भवन निर्माणका लागि सहायता सम्झौतामा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


सहायता सम्झौता जापानी राजदूतावास र मिलन अधिकारीका बीच भएको हो । अधिकारी मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाका अध्यक्ष हुन् र त्यही संस्थाले उक्त अस्पताल सञ्चालन गरेको छ ।


ADVERTISEMENT

# # #


चौरजहारी अस्पतालको इमर्जेन्सी विभाग निर्माण परियोजनामा जापान सरकारको धरातलीय मानव सुरक्षा परियोजनाका लागि आर्थिक सहायता अन्तर्गत रकम विनियोजन गरिएको हो । सहायताको कुल रकम लगभग ९० लाख ५० हजार रुपैयाँ छ ।

अस्पतालमा अहिले इमर्जेन्सी विभाग नभएकाले गम्भीर रोग लागेका बिरामीले कि त अस्थायी कक्षमा कि त सामान्य परामर्श कक्षमा उपचार गराइरहनुपरेको छ । त्यसले गर्दा बिरामीहरूमा खतरनाक तथा अस्वस्थकर परिस्थिति बन्ने गरेका छन् ।
अस्पतालमा दैनिक २०० जति बिरामी आउने गरेका छन् ।

यो परियोजना सम्पन्न भएपछि रोगीहरूले थप सुरक्षित तथा स्वस्थ वातावरणमा उपचार पाउनेछन् अनि चिकित्सकहरूले थप प्रभावकारी र उपयुक्त स्वास्थ्योपचार दिन सक्नेछन् ।

जापानी राजदूतावासले यस परियोजनाले दुर्गम क्षेत्रमा रहेका अस्पतालमा इमर्जेन्सी सेवालाई वृद्धि गराउन तथा मध्यपश्चिम क्षेत्रमा मृत्युदर घटाउन योगदान गर्ने आशा लिएको छ । यो सहायताले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धमा अभिवृद्धि हुने आशा पनि उसले गरेको छ ।