काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टोली तयारी समितिले नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण शुरु गरेको छ । शनिबारदेखि शुरु भएको प्रशिक्षणमा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सहभगी गराइएको छ ।


ADVERTISEMENT


एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन् । प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो ।


ADVERTISEMENT

# # #


उक्त पदक नेपालले १८ औँ एसियाडमा हासिल गरेको एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए । आगामी माघ ५ गतेसम्म चल्ने प्रशिक्षणको आज राखेपका सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरे ।

उनले एसियाडमा पदक ल्याउन असफल भएपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३ औँ सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी दिए । “राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौँ । पदक विजेतासहित पदक जित्न असफल भएपनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३ औँ सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौँ”–उनले भने ।

सदस्य–सचिव विष्टले प्रशिक्षकको हकमा सिनियर÷जुनियर तथा स्थायी÷अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइने बताउँदै बाँकी खेलाडीलाई आठौँ राष्ट्रिय खेलकुदपछि प्रशिक्षणमा राखिने बताए । प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ । राष्ट्रिय टोली तयारी समितिका निर्देशक अर्जुन विकले पहिले तोकिएको मितिभन्दा आठौँ राष्ट्रिय खेलकुदपछि सरेकोले तत्काललाई १८ औँ एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी प्रशिक्षण शुरु गरिएको बताए । विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्य–सचिव विष्टले ट्रयाकसुट पनि प्रदान गरे ।