अमरगढी– परम्परागतरुपमा मौरी पालन गर्दै आएका डडेल्धुरा जिल्लाका किसानहरु विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । यहाँका करीब दुई हजार घरधुरीले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।


ADVERTISEMENT


मौरीपालनबाट आम्दानी बढ्न थालेपछि निजी लगानी बढ्दै गएको छ । आलिताल घरेलुका कर्णबहादुर बोहराले व्यक्तिगत लगानीमा ३२ घार मौरीमा व्यावसायिक मौरीपालन गर्न थालेका छन् । उनले एक लाख ८० हजार युवा लक्षित मौरीपालन र एक लाख व्यक्तिगत लगानी गरी मौरीपलनमा लागेको बताए ।


ADVERTISEMENT

# # #


सोही ठाउँकै अमरबहादुर बोहराले समेत अनुदान र व्यक्तिगत लगानी गरी २५ घार मौरीपालन गर्ने लागेको बताए । पहिलेदेखि नै मुडे घारमा दुई÷तीन घार मौरीपालन गर्दै आएका बोहराले युवा लक्षित अनुदान पाएपछि गाउँमै व्यावसायिक मौरीपालन गरिरहेको बताए । सरकाले दिएको अनुदानको सफल सदुपयोग गर्ने र उत्कृष्ट व्यवसायी बन्ने लक्ष्य रहेको समेत बोहराले बताए ।

जिल्लाको भित्री मधेश क्षेत्रसँग जोडिएको साविकको आलिताल गाविस मौरीपालनका लागि पकेट क्षेत्र बन्दै गएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानएको छ । खासगरी नेपाल सरकारले युवा लक्षित मौरीपालन कार्यक्रमको कार्यान्वयनपछि कमै मिहेनतमा मनग्य आम्दानी हुने भएकाले मौरीपालनतिर युवा वर्गमा आकर्षण बढ्दै गएको छ ।

जिल्लामा झण्डै दुई हजार परिवारले मौरीपालन गर्दै आएका छन् । आलिताल क्षेत्रमा मात्र ५०० किसानले मौरीपालन गर्दै आएको तथ्याङ्क छ । मौरीका लागि प्रयाप्त चरन क्षेत्र भएका कारणले आलिताल गाउँपालिकामा मौरीपालन फस्टाउँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि जिल्लाका अन्य गाउँमा पनि मौरीपालनतर्फ आकर्षण बढ्दै गएको छ ।

दलित महिला पनि मौरीपालनतिर

सुदूरपश्चिमको केन्द्रविन्दु रहेको डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत विभिन्न दलित समुदायको वसोवास रहेको छ । दैनिक ज्याला र मजदूरी गर्दै दिनचर्या बिताउँदै आएका दलित महिलामा नै मौरीपालनतिर आर्कषण बढ्दै गाएको छ ।

आलिताल गाउँपालिका जालटुडाकी पुनादेवी कामी अहिले व्यावसायिक मौरीपालनमा लागेकी छन् । उनको परिवार वर्षौदेखि आफूसँग भएको सीपमा गुजार गर्दै आएको थियो र त्यो पेशाबाट दैनिकी चल्न नसकेपछि आफूले मौरीपालन व्यवसायमा रोजेको उनले बताइन् । व्यावसायिक मौरीपालन अँगालेएकी उनले अहिले २० घारमा सेरेना जातको मौरी रहेका छन् । एक वर्षमा एक घारबाट पाँचदेखि सात केजीसम्म मह उत्पादन हुने गरेको उनको भनाइ छ । २० घारमा एक क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएको उनले बताइन् ।

जिल्लामा वार्षिक ७२ टन मह उत्पादन हुँदै गरेको साविककोे जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क रहेको छ । डडेल्धुराबाट एक वर्षमा तीन करोड ६० लाखको मह बिक्री हुने गरेको छ । महसँगै वार्षिक रु ६७ लाख ९० हजारसम्मको मौरीका गोलासमेतको घार बिक्री भइरहेको जिल्ला कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ अधिकृत दिलबहादुर विष्टले जानकारी दिइन् ।

डडेल्धुरा जिल्लामा आधुनिक १० हजार घार र पाँच हजार मुडे घारमा मौरीपालन भइरहेको साविको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको तथ्याङ्क छ । – करन ताम्राकार/रासस