काठमाडौँ– आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन् ।


ADVERTISEMENT


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने क्रममा काठमाडौँबाट ती प्रदेशमा जाने यात्रुको चाप बढेको जनाएको छ । निर्वाचन हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौँमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जाने क्रम असार महिना लागेपछि नै सुरु भएको हो ।


ADVERTISEMENT

# # #


महासङ्घका महासचिव सरोज सिटौलाले मतदाताका रुपमा गृह जिल्ला जान चाहने यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापन गरिएको जानकारी दिए । उनले यात्रुको चाप बढेपछि बाहिर जान पालो कुरेर बसेका गाडीलाई खुकुलो गरिएको र असार १ गतेदेखि अहिलेसम्म सामान्य दिनमा भन्दा अतिरिक्त छ लाख यात्रु बाहिरिएको जानकारी दिए।

लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि काठमाडौँ बाहिर जाने कलङ्की, बल्खु, कोटेश्वरलगायत नाकामा यात्रुको भिड देख्न सकिन्छ । आजै साँझसम्म पुग्नुपर्ने भएकाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य दिनमा भन्दा अहिले बाहिर जाने यात्रुको भिड छ ।

दोस्रो चरणमा ३३३ स्थानीय तहमा हुन लागेको निर्वाचनका केही क्षेत्र तथा स्थानका उम्मेदवारले काठमाडौँका आफ्ना मतदाताको सुविधालाई दृष्टिगत गरी गाडी नै ‘रिजर्भ’ गरेको पनि पाइएको छ ।