डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।


ADVERTISEMENT


आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरिन् ।


ADVERTISEMENT

# # #


मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उनले स्थानीय बासिन्दासँग कुरा गर्दै मतदाता नामावली यहीँ भएकाले भोट हाल्न आएको बताए । “निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले मतदान गरेर फर्कने क्रममा भने ।

बुधबार स्थानीय तहको निर्वाचनमा डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर :रासस

प्रधानमन्त्री देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गरेका हुन् । उनकै पहलमा पछि यहाँ माध्यमिक तह स्थापना भएको हो । प्रधानमन्त्री देउवा अहिले कैलालीको धनगढी फर्कंदै छन् । उनी बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।