काठमाडौँ– साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ ।


ADVERTISEMENT


पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ ।


ADVERTISEMENT

# # #


साथै ती व्यवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न अहम् नेतृत्व गर्नुहुने शैक्षिक व्यक्तित्वका जीवनका विविध पाटालाई पुस्तकले समेटेको छ । एक सय पाँच शीर्षकको करीब २४० पृष्ठको पुस्तकभित्र लेखकले आफूले अध्ययन तथा अध्यापन गरेका तनहुँ जिल्लाका विद्यालयका इतिहासलाई संस्मरणात्मकरूपमा समावेश गरेका छन् ।

एकदशकसम्म तनहुँका तत्कालीन मनोहर प्रावि, चन्द्रावती माध्यामिक विद्यालय र कालिका माविमा अध्यापनमा बिताएका सर्जक पौडेलले आफ्नो पुस्तकभित्र ‘जीवनका लागि शिक्षा कति महत्वपूर्ण छ’ भन्ने कुरालाई स्मरणात्मकरूपमा सूक्ष्मले व्याख्यासमेत गरेका छन् ।

पूर्वशिक्षामन्त्री एवं वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले आज पुस्तक सार्वजनिक गर्दै विगत र वर्तमानमा शिक्षाको अवस्था र गुणस्तर कस्तो थियो भन्ने कुरालाई पुस्तकले गहनरूपमा व्याख्या गरेको टिप्पणी गरे।

उनले भने “पूर्वीय ज्ञानको भण्डारलाई जीवन्त राख्न शिक्षा प्रणालीमा सुधारको खाँचो छ ।” लेखकले यसअघि नेपाल रेडक्रस सोसाइटीमा काम गर्दाका अनुभव समेटिएर लेखिएको पुस्तक ‘रेडक्रसकर्मी’ सार्वजनिक गरेका थिए ।

पुस्तकमाथि प्राज्ञ नमूना शर्मा, साहित्यकार तीर्थराज वन्त र रमेश पौडेलले पुस्तकले इतिहासदेखि वर्तमानसम्मका शिक्षा अवस्थाका बारेमा पठनीयरूपमा पस्कन सफल भएको बताए ।

पुस्तक प्रकाशन संस्था हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, महासचिव रामकृष्ण धरेल, संस्थापक प्रतापराज वन्त तथा केन्द्रीय सदस्य दीव्यराज पौडेलले स्मरणात्मक लेखनमा गहन विषयलाई पुस्तकले समेटेको बताए ।