काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाऊ गर्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबारबाट सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा बोल्दै नेता देउवाले प्रदीप रावल र विशाल चौधरीजस्ता निर्दोषलाई पक्राउ गरेर निर्मलाका वास्तविक हत्यारालाई लुकाउन खोजेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘एउटा रावल र चौधरीलाई ल्याएर उनीहरुलाई टर्चर दिएर मानसिक स्थिति नै खलबल बनाइएको छ । त्यसको जिम्मेवारी कसले लिन्छ ? त्यसरी टर्चर दिन पाइन्छ ?’ उनले भने, ‘कसैलाई बचाउन निर्दोषलाई पक्राउ गरेर जबरजस्ती कबुल गर्ने यो पनि न्याय हो ? त्यसकारण यसमा स्पष्ट हुन्छ कि सरकारले नै अपराधीलाई बचाउन खोजेको छ ।’

सरकार बनेबित्तिकै देशको शान्ति सुरक्षा खलबलिएको भन्दै उनले सरकारले ठूला कुरा गर्न नमिल्ने बताए । सरकारको पहिलो कर्तव्य जनताको सुरक्षा गर्नु रहेको बताउँदै उनले भने, ‘आफ्ना देशका जनतालाई शान्ति सुरक्षा दिन नसक्ने सरकारले यो वा त्यो गर्यौँ भन्न मिल्छ ? सरकार कहाँ छ ? जनतालाई न्याय दिने कुरामा सरकार असफल भएको छ ।’

यस्तै संघीयताका लागि आवश्यक पर्ने नीति तर्जुमा केही नभएकाले सरकारले संघिताप्रति सरकारको नियत नै ठीक नभएको बताए । उनले मधेशी, जनजाती, महिलाका भावनालाई सम्बोधन गर्नतिर सरकारले वेवास्ता गरिरहेको बताए । उनले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेको डा. गोविन्द केसीसंग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने अवस्थाले सरकार सम्झौता पालना गर्दैन भन्ने कुरा स्पष्ट भएको बताए । गोविन्द केसीसंग विगतमा भएको सम्झौता पूर्णतः कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे ।

यस्तै देउवाले वाइवडी खरीद प्रकरणमा मन्त्रीले एक कुरा भन्ने र महालेखा परीक्षकले अर्कै कुरा भन्ने गरेको भन्दै उनले यस विषयमा सत्यतथ्य जनताले थाहा पाउनुपर्ने बताए । उनले प्रतिपक्षी दललाई बेवास्ता गरेर सरकार सफल हुन नसक्ने टिप्पणी गरे ।

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनका लागि कांग्रेस सहयोग गर्न तयार रहेपनि सरकारले कुनै तदारुकता नदेखाएको भन्दै उनले द्वन्द्वपीडित जेसुकै हुन् आफू सरकारमा गए पुगिहाल्यो भन्ने मानसिकता सत्तापक्षमा रहेको बताए । उनले भने, ‘माननीयज्यू (प्रचण्ड) भर्खरै बोलेर जानु भयो । तर उहाँले द्वन्द्वपीडितको बारेमा उच्चारण समेत गर्नु भएन । अब सत्ता भए पुगिहाल्यो ?’

कांग्रेस सभापति देउवाले चारैतिर विवादास्पद भनिरहँदा क्रिश्चियन धर्म प्रचारक विवादास्पद संस्थाको कार्यक्रममा सहआयोजक बन्नुले सरकार कतातिर जाँदैछ भन्ने कुरा स्पष्ट भएको बताए । ‘विवादास्पद संस्थाको सरकार नै सहआयोजक बन्ने ? कती वटा धर्म छन् नेपालमा ? सबैको सह–आयोजक सरकार बन्न मिल्छ ?’ उनले प्रश्न गरे, ‘कुनै धर्मको सरकार नै आयोजक बन्ने हो भने धर्मनिरपेक्षताको महत्व के भयो ? राज्यको कुनै धर्म हुन्छ ?’

यस्तै उनले आफ्नो नेतृत्वमा संसदबाट पारित भएको सामाजिक सुरक्षालाई अहिलेको सरकारले आफ्नै कार्यक्रम भनेर ठाउँठाउँमा पोष्टर टाँसिएकोप्रति आपत्ति जनाए । ‘आफूले गर्नु नि ! अर्काले गरेको कुरा मैँले गरेँ किन भन्ने ? अर्काले गरेको काम पनि आफैले गरेको देख्ने ? हद हुन्छ नि । प्रधानमन्त्रीले यसरी जनतालाई भ्रम छर्न थाल्यो भने के हुन्छ ? यसरी ठग्न पाइन्छ ?’ उनले भने ।

‘प्रधानमन्त्रीले नै जनतालाई भ्रम दिन थालेपछि के हुन्छ ?’ उनले अघि भने, ‘सबैले तपाईले गरेको हो भनिदिन्छु, काम त गर्नुस् ।’

देउवाले दुर्घटनामा परी दाङ र नुवाकोटमा जीवन गुमाउने प्रति बैठकमा दुःख व्यक्त गरे ।