काठमाडौं । साबिक विजेता तथा यो सिजन पनि उपाधि होडमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो खेलमा पराजित भएको छ ।


ADVERTISEMENT


लिग अन्तर्गत बुधबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी लेस्टर सिटीसँग २–१ ले पराजित भएको हो । अवे मैदानमा भएको खेलमा अन्तिम समयमा १० खेलाडीमा सीमित भएको म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएर पनि हार टार्न सकेन ।


ADVERTISEMENT

# # #


१४ औँ मिनेटमा बर्नार्डो सिल्भाको गोलबाट म्यानचेस्टर सिटीले अग्रता लियो । त्यसको पाँच मिनेटपछि लेस्टरका लागि मार्क अलब्राइटनले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफको त्यो पनि अन्तिमतिरको समय म्यानचेस्टर सिटीका लागि घातक बन्यो ।

८१ औँ मिनेटमा रिकार्डो परेइराले लेस्टरका लागि गोल गर्दै २–१ को जित निश्चित गरेका हुन् । खेलको ८९ औँ मिनेटमा फाबिएन डेल्फ सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो ।

हारपछि म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । उसको १९ खेलबाट ४४ अंक भएको छ र शीर्ष स्थानको लिभरपुल भन्दा सात अंकले पछि परेको छ ।

दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४५ अंक भएको छ । म्यानचेस्टर सिटी यसअघि गएको शनिबार क्रिष्टल प्यालेससँग ३–२ ले पराजित भएको थियो ।