खार्तुम– सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् ।


ADVERTISEMENT


सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभयो । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।


ADVERTISEMENT

# # #


गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् ।एजेन्सी