काठमाडौँ– सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गरे।


ADVERTISEMENT

# # #


उनले सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा किसान प्रभावित हुँदा उनीहरुका आश्रित परिवार समेत प्रभावित भएको भन्दै तत्काल मूल्य तोक्न आग्रह गरे । सांसद पुष्पा भुसालले महिला हिंसाका घटना नियन्त्रण गर्न नसकेकामा सरकारको आलोचना गरिन् ।

उनले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म हत्यारा पत्ता नलाग्दा नागरिकमा निराश पैदा भएको भन्दै तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरे।

सरकारी बैंकको सेवा प्रभावकारी भएन

सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले नागरिकलाई प्रभावकारी सेवा दिन माग गर्दै सांसद रेनुका गुरुङले निजी बैंकको तुलनामा सरकारी बैंकलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।

उनले सरकारी लगानीका बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटिएम मेसिनको सेवा प्रभावकारी नभएको, नागरिकले हैरानी मात्रै पाएकाले राष्ट्र बैंकले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गरिन् । उनले एटिएम मेसिनमा पैसा नराखी नागरिकलाई दुःख दिने बैंकका कर्मचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिइन् ।

सडक दुर्घटनामा सरकारले ध्यान दिएन

सांसद रेशा शर्माले देशव्यापी रुपमा सडक दुर्घटना बढेको भए पनि त्यसलाई न्यूनीकरण गर्न सरकारको तर्फबाट प्रभावकारी कदम नचालिएकामा गुनासो गरिन् । उनले वर्षेनी सडक दुर्घटना बढ्दै गए पनि सडक मर्मत तथा सम्भारमा ध्यान नदिइएको, पुराना र थोत्रा सवारी साधन विस्थापनमा ध्यान नदिइएकामा आपत्ति जनाइन् ।

सांसद नवराज सिलवालले नेपालमा निर्माण भएका ३० हजार किलोमिटर सडकमध्ये एक तिहाइ बढी सडक गलत तवरले निर्माण भएका कारण सवारी दुर्घटनाको मात्रा बढेको जानकारी गराए । उनले चालकको लापरवाही, थोत्रा सवारी साधनका कारण दुर्घटना बढेको भन्दै सरकारले ठोस् नीति निर्माणका लागि कार्यदल बनाउन सुझाव दिए ।

त्यस्तै सांसद हितबहादुर तामाङले आफ्नो निर्वाचन क्षेत्र रहेको नुवाकोटमा समेत सडक दुर्घटना हुँदा २१ जनाको ज्यान गएको र थुपै्र घाइते भएको तथ्य पेश गर्दै दोषीमाथि कारवाही गर्न माग गरे । उनले फरार भएका चालकलाई पक्राउ गरी कारवाही गर्न र सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

कर्मचारी समायोजन अध्यादेश फिर्ता लिन माग

सांसद गगन थापाले कर्मचारी समायोजन अध्यादेशका कारण देशव्यापी रुपमा कर्मचारी आन्दोलित भएको भन्दै विगतमा नै ल्याइएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

प्रदेश लोक सेवा आयोग, कर्मचारी समायोजन ऐन ल्याइएको भए हाल समस्या नआउने भन्दै उनले सरकारले कर्मचारी समायोजनमा ध्यान नदिइएकामा आपत्ति जनाए ।

उनले अध्यादेश फिर्ता लिएर तीन वटै तहको कर्मचारी समायोजनसम्बन्धी ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद थापाले आफूहरु सरकारसँग मिलेर नै काम गर्न तयार रहेकाले आवश्यक कानून ल्याउन अनुरोध गरे ।

सांसद नरबहादुर धामीले सरकारले ध्यान नदिँदा देशव्यापी रुपमा भूमाफिया बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरे । सांसद झपट रावलले भूमिहिन र सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न र उनीहरुलाई राज्यको मूलप्रवाहमा ल्याउनुपर्नेमा जोड दिए । उनले संविधानको मूल्य र मान्यता विपरीत पूर्व राजाले दिएको अभिव्यक्ति र गतिविधि नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।

सांसद महेन्द्र राय यादवले शान्ति, स्थिरता र सुशासनका लागि मधेसी जनताले उठाएको माग सम्बोधन गर्न सरकारले ध्यान नदिएको र संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएकामा गुनासो गरे । रेशम चौधरीले सांसदको शपथ ग्रहण गर्न समेत नपाएको भन्दै उनले तत्काल मुद्धा फिर्ता लिनुपर्नेमा जोड दिए ।

उनले उखु किसानको माग सम्बोधन गर्दै तत्काल उखु पेलाइको व्यवस्था मिलाउन र गत वर्षमा बाँकी रहेको रकम समेत किसानलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरीले रेशम चौधरीको मुद्धा फिर्ता लिई तत्काल प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराउन आग्रह गरे ।

पशुपतिमा तीर्थयात्रीले दुःख पाए

नेपालको पहिचानसँग जोडिएको पशुपतिनाथमा यात्रु तथा धर्मावलम्बीले दुःख पाएको भन्दै सांसद वृजेशकुमार गुप्ताले सामान्य मानवीय सुविधा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको ध्यानाकर्षण गराए ।

उनले तीर्थयात्रीले पानी पिउन नपाएको, नुहाउने तथा पूजा गर्ने सहज व्यवस्था समेत नभएको, खान पकाउने स्थान समेत नभएको भन्दै पर्यटन प्रवद्र्धनमा जोड दिएको सरकारले किन त्यता ध्यान नदिएकामा गुनासो गरे । सरकारले नेपाल भ्रमण वर्षको कार्यक्रम घोषणा गरेको सन्दर्भमा धार्मिक स्थलमा अत्यावश्यक सेवा तथा सुविधा उपलब्ध गराउनुपर्ने सांसद गुप्ताको भनाइ थियो ।