काठमाडौँ– टीकापुर घटनाका मुख्‍य अभियुक्त रेशम चौधरीलाई आज शपथ खुवाइने भएको छ । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राजपाका नेता चौधरीलाई बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा शपथ खुवाइने बताइएको छ ।


ADVERTISEMENT


सांसद चौधरीको सपथ ग्रहण कार्यक्रम पूर्वनिर्धारित समयभन्दा केही घण्टालाई पछि सरेको छ । बिहान साढे ११ बजे राखिएको सपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि सारिएको हो ।


ADVERTISEMENT

# # #


थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य आरोपी भनिएका चौधरी डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् । फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि आत्मसमर्पण गरेका थिए।

चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु पर्ने, उनीमाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने माग राख्दै राजपाले आफूहरुको माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको थियो । सोही माग बमोजिम चौधरीलाई शपथ खुवाउने तयारी गरिएको हो ।