काठमाडौँ – संवैधानिक परिषदले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । विहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


कायममुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव सर्वसम्मतिले पारित भएको परिषदका सदस्य एवम् उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि बसेको परिषद बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रस्तावबारे आवश्यक राय लिन भन्दै केही समय माग गरेका थिए । उपसभामुख यादवले विपक्ष दलका नेता ओलीले नै कायममुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

कायममुकामय प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गर्नुपर्नेछ । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश पराजुली उमेर विवादमा तानिएका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीेले उमेर हदका कारण स्वेच्छिक अवकाश पाएपछि पराजुलीलाई कायममुकामय प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको छ ।