– महेश बस्नेत, सांसद, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )


ADVERTISEMENT


यतिबेला तपाईको पार्टी नेकपाका अध्यक्ष केपी ओली मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । विकास र समृद्धिका सपना जनतालाई देखाइरहँदा सरकारका कामकाजलाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ?


ADVERTISEMENT

# # #


विगतमा भएका कमीकमजोरीहरु, सुरक्षा निकाय र जनताबीच बिग्रँदो सम्बन्ध र प्रशासनिक क्षेत्र भित्रका अव्यवस्थाहरु लगायत तमाम कुराहरुलाई मिलाएर त्यसलाई परिमार्जित र परिस्कृत गर्ने कुरामा वर्तमान सरकारले अपेक्षाकृत काम गर्न नसकिरहेको जस्तो देखिन्छ यो सात आठ महिनाको दौरानमा । यद्दपी सरकारका काममा असन्तुष्टि जनाउनु पर्ने कारण म देख्दिँन । हाम्रो संसदको हिउँदे अधिवेशन पनि सुरु भइसकेको छ । अब आफ्ना कामको गम्भिर समिक्षा गर्दै मुलुकको विकासका लागि जनतामा रहेका भ्रमहरु चिर्ने र निराशाहरुलाई हटाउँदै सरकार अगाडि बढ्छ ।

अबको पाँच वर्षभित्रमा देशलाई जहाँ पुर्याउँछौँ भनेर तपाईहरुले चुनावी घोषणा पत्रमा जसरी भन्नु भएको छ, त्यो लक्ष्य हासिल गर्नका लागि सरकारले यो ८-१० महिनामा गर्नुपर्ने काम त भएका छैनन् भन्ने गुनासाहरु सुन्नुभएको छ ? 

चुनावका बेला प्रतिवद्धता जाहेर गरिरहँदा संक्रमणकाल पार गरेर आएको तत्कालीन अवस्थामा भइरहेको आर्थिक अनियमितता र राजश्वको बेथितीबारे दलहरुले हेक्का नगरेकै हुन् । त्यो भएर प्रतिवद्धता अलि बढी नै गरिएको जस्तो देखिन्छ । अर्को हाम्रो जस्तो मुलुकमा जनतालाई अलि बढी नै आश्वासन दिने प्रतिस्पर्धा नै छ । नाकाबन्दी समेत सामना गर्नु परेको अवस्थामा छिमेकीसंगको सम्बन्ध असन्तुलित अवस्थामा वर्तमान सरकारले दुबै मुलुकसंगको सम्बन्धलाई स्थापित गरेको छ । जुन किसिमले हामीले अहिले जलविद्युत उत्पादनमा प्रगती गरिरहेको छौँ, त्यसलाई हिजो बिक्रि गर्ने बजारको समस्या थियो । तर आज भारत र चीन मात्रै होइन, बंगलादेश लगायत तेस्रो मुलुकहरुलाई समेत आफ्नो बिजुली बेच्ने बाटो खुलेको छ । त्यस्तै नारायणी, कोशी जस्ता ठूला नदीहरुमा पानीजहाज चलाउनेसम्मका कुराहरु अगाडि बढेका छन् ।

दुईवटै देशबाट रेल ल्याउने कुराहरु अगाडि बढेका छन् । काठमाडौँ उपत्यकामा मेट्रो ट्रेनका कुराहरु चलेका छन् । यी ठूला किसिमका मेगा प्रोजेक्टहरु अगाडि बढेका छन् । त्यसका अलवा ‘माइक्रो लेभल’मा जनताले आशा राखेका पूर्वाधारहरु खानेपानी, ढल, सिचाईँ, बिजुली लगायतका कुरामा पनि तुलनात्मक रुपमा प्रगतीहरु भएका छन् । संविधान कार्यान्वयनको यो दौरानमा विशेष गरी तीनै तहका सरकारलाई समायोजन गर्ने काम सरकारको दायित्व पनि हो । यो कार्यान्वयन गर्ने कुरामा कतिपय जटिलताहरु, कर्मचारीलाई परिचालन गर्ने कुरामा आएका कतिपय अविश्वासहरुले गर्दा जुन गतिमा हुनुपर्ने हो त्यो गतीमा हुन नसकिरहेको देखिए पनि काम ठिकै ढंगले अगाडि बढिरहेको छ ।अघिल्लो चार महिनाको राजश्व संकलनको स्थिति हेर्दा हामी धेरै आशावादी हुने स्थिति छ । यसले तीन वर्षभित्र नेपालको आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने सरकारको संकल्पलाई सहयोग गर्छ । यस्तै धरहराको शिलान्यास भएको छ । थुप्रै सांस्कृतिक सम्पदा पुनर्निमार्ण भएका छन् । सडकमा अहिले उल्लेख्य सुधारहरु भएका छन् । ठूला आयोजनाहरु तीव्र गतिमा अगाडि बढ्दैछन् । त्यस कारण आउँदो वर्ष उत्साहको वर्षका रुपमा परिणत हुने देखिन्छ ।

सरकारका विरुद्ध विभिन्न किसिमका टिकाटिप्पणीहरु आइरहेका छन् । तपाई जस्ता युवा नेताहरुकोतर्फबाट प्रधानमन्त्रीसंग वर्तमान परिस्थिति, जनताका अपेक्षा र सुझावलाई लिएर संवादको आदानप्रदान कत्तिको हुन्छ ?

यो विषयमा हामीले जानकारी नगराउने कुरै भएन । सरकारप्रति कत्तिको भ्रम फिजाइएको छ भन्ने कुरामा उहाँहरु आफै पनि जानकार नै हुनुहुन्छ । जस्तो, नेपाल प्रहरीको कामको प्रगती हेर्ने हो भने ९५ प्रतिशत अपराध नियन्त्रण गर्न र अपराधीहरुलाई कारबाही गर्न सफल छ । तर, कञ्चनपुरको निर्मला हत्या प्रकरणले सारा सुरक्षा निकाय असफल छ भन्ने जस्तो कुरा उचालियो । यो कुरालाई एउटा प्रोपोगाण्डाका रुपमा उठाउन खोजिँदैछ । तर, नेपालको सुरक्षा प्रणाली कमजोर छ भन्ने मलाई लाग्दैन ।

अर्को, युनिभर्सल पिस फेडेरेसनको आयोजनामा जुन कार्यक्रम भयो, त्यसले नेपाललाई अन्तर्राष्ट्रिय मैदानमा चिनाएकै छ । तर, त्यसलाई धर्मलाई अपमान गर्ने र निश्चित मिसन बोकेका मिडियालाई प्रयोग गरेर त्यसको विरोध गरियो । चाहे गोविन्द केसीको मुद्दा होस् वा अन्य । यी सबै सरकारलाई असफल बनाउने प्रोपोगाण्डाको हिसाबले आएका छन् । त्यसमा सरकार सचेत छ । यसमा हामीले आफूले चाहेको भूमिका अनुसार सरकारलाई सहयोग गरिरहेका छौँ ।

अहिले गोविन्द केसीको मुद्दा पुनः ब्युझिएको छ । उहाँले अनसन बस्ने चेतावनी सरकारलाई दिइरहनु भएको छ । यसमा तपाईको भनाइ के छ ?

गोविन्द केसीको मागका विषयमा म विल्कुल असहमत छु । किनभने भक्तपुरमा हामीले एउटा ठूलो मेडिकल कलेज खोल्ने भनेर तयारी गरेका थियौँ । उहाँका अनसनका कारण खोल्न सकेनौ । अब हामी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न खोज्दैछौँ । उहाँले उपत्यकाभित्र मेडिकल कलेज खोल्न हुन्न भनेर भन्दै हुनुहुन्छ । आज एमबीबीएस पढ्नका लागि कि बंगलादेश जानुपर्ने अवस्था छ कि त अर्कै विषय पढ्पर्ने अवस्था छ । स्वयम् मेरो छोरी पनि मैँले बाहिर पठाउन नसक्ने स्थिति भएपछि एमबीबीएस नभई बीडीएस पढाउनुपर्ने स्थिति आयो । त्यसो भएको हुनाले उहाँका कतिपय मागसंग म असहमत छु । अनसन बस्ने एउटा व्यक्तिका पछाडी आफूलाई सेलिब्रेटी ठान्ने कतिपय नेताहरु लागेर मुलुकलाई अवरोध गर्ने र सरकारलाई समेत निर्देश गर्ने काम भएको छ । यो गलत हो । यस्तो कुरामा सरकार झुक्नु हुँदैन र भोलिका दिनमा पनि झुक्छ भन्ने मलाई लाग्दैन ।

अहिले दुई वटा पार्टी एक भएका छन् । तर, टाउको मात्रै जोडिए, शरीर जोडिएको छैन भनेर भनिन्छ । तल्लो तहसम्म नै पार्टी अन्तर्घुलित कहिलेसम्म हुन्छ ? त्यसको मोडालिटी के हुन्छ ?

दुई पार्टी बीचको एकता भावनात्मक हिसाबले तलसम्म पुगिसकेको छ । जनप्रतिनिधिका हिसाबले भन्नुहुन्छ भने पनि तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने साथीहरुबीच पार्टी एकता सकिसकेको छ । सबै एक पार्टीमा अन्तर्घुलित भइसकेको छ । जहाँसम्म स्थानीय कमिटीको एकताको ढिलासुस्तीको कुरा छ, यसमा केही जटिलताहरु हामीले सामना गर्नु पर्यो । किनभने गौरवपूर्ण इतिहास बोकेका दुई ठूला पार्टीहरुबीचको एकता आफैमा जटिल कुरा हो । मलाई लाग्छ, यो पटकको स्थायी समितिको बैठकले तल्लो तहमा पनि पार्टी एकताको लागि तीव्र रुपमा अगाडि बढाउने काम गरेको छ । त्यो एकता तलका कमिटीहरु चलायमान नभएकाले अलि अन्यौलता छाएको जस्तो मात्रै देखिएको हो । मलाई लाग्छ अनुभूति नै हुनेगरी यो एक महिना भित्रमै पार्टी एकताको काम सकिन्छ ।

भक्तपुरबाट प्रतिनिधित्व गर्दै तपाई अहिले संघीय संसदमा हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि के गरिरहनु भएको छ ?

संघीय संसदको सांसदको हैसियतले मेरो दुईवटा दायित्व हो भन्ने मलाई लाग्छ । मुलुकलाई चाहिने ऐन, नियम र कानुन बनाउनेमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्ने र अर्को, सरकारद्वारा सञ्चालन हुने विभिन्न योजना, आयोजनाहरुको मध्यस्थता गर्ने र अनुगमन गर्ने, त्यसलाई कार्यान्वयन गर्ने कुरामा सहयोग गरिदिने र जन चाहना अनुसारका योजना पार्नका लागि पहल कदमी गर्ने । यी दुबै क्षेत्रमा मैँले आफ्नो क्षमतालाई प्रस्तुत गरेको छु भन्ने लाग्छ ।

जहाँसम्म भक्तपुरको कुरा छ, विगतमा भक्तपुर एउटा ‘बत्तिमुनिको अँध्यारो’ जिल्लाको रुपमा परिचित थियो । सिंहदरबारबाट जम्मा १३ किलोमिटर टाढा भक्तपुर विकासका हिसाबले धेरै टाढा जस्तो देखिएको थियो । मैँले जितेको यो एक वर्षको समयलाई समीक्षा गर्ने हो भने हामी निकै ठूला गौरवका आयोजनाहरु पार्न सफल भएका छौँ । जस्तो : हामीले हनुमन्ते करिडोर निर्माण गर्दैछौँ । त्यसमा झण्डै ८१ करोड बजेट परेको छ भने हामी ७८ करोडको ढल हाल्दैछौँ । मनोहरा खोलामा मनोहरा करिडोर निर्माण गर्दैछौँ । त्यहाँ पनि ढल हाल्दैछौँ । यस्तै कोटेश्वरको जाम हटाउनका लागि बालकुमारीदेखि मनोहराको पुलसम्मको सडक पनि तीव्र गतीमा निर्माण गर्दैछौँ । हनुमन्ते खोला र मनोहरा खोलामा हामी सात वटा ठूला पुल र १७ वटा साना पुलहरु यो वर्ष नै बनाउँदैछौँ ।

यस्तै नगरपालिकाका प्रत्येक वडामा जाने सडकहरु कम्तीमा ८ देख १४ मिटरका बनाइरहेका छौँ । यस्तै, भक्तपुरको गठ्ठाघरमा १८९ रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको सभागृह बनाउँदैछौँ । सूर्यबिनायकमा राष्ट्रिय स्तरको खेलमैदान र कभर्ड हल निर्माण गर्दैछौँ । सूर्यबिनायकको जंगलमा अन्तराष्ट्रिय प्राणी उद्यान निर्माण गर्दैछौँ । यस्तै शिक्षाको क्षेत्रमा निजी र सरकारी क्षेत्रलाई लिएर एउटा ‘एजुकेशन हब’का रुपमा विकास गर्ने परिकल्पना गरेका छौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुरादेखि पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने र नयाँ सहर निर्माण गर्नेसम्मका कुरा हामीले अगाडि बढाएका छौँ । यस्ता थ्रपै काम छन् ।

कोटेश्वरको जामको कुरा गर्नुभयो । यसका लागि अन्य विकल्पहरुको खोजी कसरी भइरहेको छ ?

कोटेश्वरको लागि अल्पकालीन रुपमा बालकुमारीदखि मनोहरा पुलसम्मको सडक निर्माणको कुरा मैँले अघि नै भनिहालेँ । दुई महिनाभित्रमा हामी यो काम सक्छौँ । अरनिको राजमार्ग र पेप्सीकोलाबाट ललितपुर जाने गाडीलाई यो रुटमा हामी डाइभर्ट गर्छौँ । यसले पनि जाम केही मात्रामा घटाउँछ । अर्को, हनुमन्ते करिडोरको काम दुईवर्षभित्र सक्ने हामीले महत्वकांक्षी सोच राखेको छौँ । यो अरनिको राजमार्गको समानान्तर बाटो हो । २० मिटर खोला र १० मिटर दायाँ–बायाँ हुन्छ । यसले अरनिको राजमार्गको चापलाई घटाउँछ । अर्को दीर्घकालीन उपाय भनेको हामीले कोटेश्वरमा शुरुङ बनाउने भन्ने हो । भर्खरै परराष्ट्रमन्त्रीको जापान भ्रमणका बेला कोटेश्वरमा सुरुङ मार्ग र सुर्यबिनायक–धुलिखेल सडक ६ लेनको निर्माण गर्ने कुरामा सहमति भएको छ । यसले पनि कोटेश्वरको जाम अन्त्य गर्छ ।

अर्को कुरा, कतिपय मन्त्रीको कामलाई लिएर प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ भन्ने हल्ला छ । मन्त्रिपरिषद् परिवर्तन हुने वातावरण बन्दै हो ?

अलि अगाडी मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा चलेको थियो । तर, पछिल्लो समय बाहिर आएको टिप्पणीलाई आधार मान्नुभन्दा पनि कम्तीमा एक वर्षको समय त दिनुपर्छ भनेर समीक्षा भयो भन्ने मलाई लाग्छ । त्यस कारण फागुनको ३ गते यो सरकार गठन भएको कारण यो एक वर्षमा आफ्ना मन्त्रीले गरेको कामको समिक्षा प्रधानमन्त्रीले गर्नु भएको छ । आवश्यक पर्यो भने पुनर्गठन गर्नसक्नुहुन्छ ।

तपाईको चाही क्याबिनेटमा जाने सम्भावना कत्तिको छ ?

र्मैँले पद र प्रतिष्ठा भन्दा पनि कामलाई सफल बनाउनेतिर ध्यान दिएँ । अहिले पनि मेरो त्यस्तो माग र अपेक्षा छैन । जुन ढंगले एउटा सांसदको हैसियतले काम गरेको छु, त्यसमा सांसदहरुमध्ये मैँले ठिकै गरेको छु जस्तो लाग्छ । यो कुरा पार्टीका नेता तथा प्रधानमन्त्रीले समीक्षा गर्ने कुरा हो । अवसर आएमा आफूलाई दिइएको जिम्मेवारी स्वीकार गरेर प्रभावकारिताका साथ कार्यान्वयन गर्न म लाग्नेछु । तर, यो हुनै पर्छ भन्ने दाबी चाहीँ मेरो हुँदैन ।