बाजुरा– स्थानीय तहको दोस्रो चरणको मत आउन थालेको छ । उत्तरी भेगको पाण्डवगुफा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।


ADVERTISEMENT


गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एमालेका जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही विजयी भएको निर्वाचन अधिकृत प्रकाशराज पौडेलले बताएका छन् । उनका अनुसार शाहीले एक हजार ४५१ मत ल्याएर विजयी चएका हुन्।


ADVERTISEMENT

# # #


यसैगरी, उनका प्रतिद्वन्द्वी नेकाका अध्यक्ष पदका उम्मेदवार सुन्दर विष्टले ९८९ मत ल्याएका हुन्। गाउँपालिका उपाध्यक्षका एमालेकै ऐना गिरी विजयी भएकी छन् । गिरीले एक हजार ४९० मत ल्याएर विजयी भएकी छन्।

नेकाकी उपाध्यक्ष उम्मेदवार तारा रोकाया डडाले ९८७ मत पाएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिएका छन्। पौडेलले दिएको जानकारीअनुसार नेकपा एमालेले चार वडा जितेको छ भने नेकाले एक र माओवादी केन्द्रले एक वडा जितेको बताइएको छ ।

काँग्रेस नौ, एमाले नौ वडामा विजयी

यसैगरी, स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रममा जिल्लाका नौ स्थानीय तहमध्ये सात तहको मतपरिणाम मात्र सार्वजनिक भएको छ ।

सञ्चारको पहुँच नभएका कारण स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकाको मतपरिणाम थाहा हुन सकेको छैन । १८ मतदान केन्द्रको मतपरिणामअनुसार नौमा नेपाली काँग्रेस, नौमा नेकपा एमाले र एकमा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेका छन् ।

मतपरिणाम आएअनुसार त्रिवेणी नगरपालिका–१ मा नेकाको सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षमा नेकाका खम्म दमाईंले २८७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनराजे बुढाले २१९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत सुरेशराज पन्थीले बताए ।

यसैगरी, वडा नं ९ मा नेकाको प्यानल विजयी भएको छ । नेकाको वडाध्यक्षमा वीरबहादुर विष्टले ५२८ मतले विजयी भएका छन् । नेकपा एमालेका प्रतिद्वन्द्वी कर्णबहादुर साउदले ४०५ मत प्राप्त गरेका छन् ।

बूढीनन्दा नगरपालिका–१ मा नेकाका नृप खत्रीले ४०५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर कार्कीले ३५२ मत ल्याएका छन् ।

त्यस्तै, पाण्डवगुफा गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष प्रकाश शाही विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमालेका वडाध्यक्षमा कलकबहादुर विष्ट विजयी भएका छन् ।

 

बडिमालिका नगरपालिका–१ मा नेकाको प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्कीले ५०४ मत पाएर विजयी भएका हुन् । उनका निकटतम नेकपा एमालेका दिलबहादुर विकले २८३ मत ल्याए।

यसैगरी, वडा नं २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार डम्वर महतले २४२ मत ल्याएर विजयी भएका छन् भने नेकाका गोपाल कार्कीले २३६ मत पाएका छन् ।

वडा नं ३ मा नेकपा एमालेको सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार वीरबहादुर रावलले ३४८ मत ल्याएर विजयी भएका छन् भने नेकाका नन्दलाल खड्काले १४४ मत ल्याएका छन्।

वडा नं ४ मा पनि नेकपा एमालेको सिङ्गो प्यानल विजयी भएको छ। एमालेका वडाध्यक्ष सुरेन्द्र नाथले १४९ मत पाएर विजयी भएका हुन् । नाथका प्रतिद्वन्द्वी नेकाका सुरेन्द्रबहादुर सिंहले १२० मत ल्याएका छन् ।

वडा नं ५ मा नेकाका सिङ्गो टोली विजयी भएको छ । नेकाका बलबहादुर थापाले २३३ मत ल्याएर विजयी भएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका देवु साउदले १३२ मत पाएकी छन् ।