काठमाडौँ– नेपाली युवा स्टार लेगस्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पनि आफ्ना सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिएका छन् ।


ADVERTISEMENT


विश्व क्रिकेट लिगमा लगातार एकपछि अर्को व्यावसायिक टी २० लिग खेलेर चर्चाका शिखरमा रहेका लामिछानेले बीपीएलको डेब्यू खेलमा दुई विकेट लिएका हुन् । सिलेट सिक्सरका लागि सन्दीपले कोमिल्ला भिक्टोरियान्सविरुद्ध उत्कृष्ट बलिङ गरे ।


ADVERTISEMENT

# # #


उनले चार ओभरमा मात्र १६ रन खर्चिएर दुई विकेट लिए । सन्दीपले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो विकेट दिलाउने क्रममा सोयब मालिकलाई सब्बिर रहमानको हातबाट क्याच गराए । यस्तै उनले अनामुल हकलाई बोल्ड गरेर दोस्रो विकेट हात पारे ।

२४ मध्ये १२ बल डट फालेका सन्दीपविरुद्ध भिक्टोरियन्सका कुनैपनि ब्याट्समेनल बाउन्ड्री हान्न सकेनन् । यस्तै साहिद अफ्रिदीले सन्दीपको लगातार चार बलमा कुनैपनि रन बनाउन सकेनन् ।

यद्दपी सन्दीपले राम्रो प्रदर्शन गरेपनि उनको टिम भने पराजित भएको छ । १२८ रनको सामान्य चुनौति दिएको सिक्सर ४ विकेटले पराजित भएको हो । कोमिल्ला भिक्टोरियान्सले १ बल बाँकी छँदै ६ विकेट गुमाएर १३० रन बनायो । यसका लागि साहिद अफ्रिदीले जित दिलाए । उनले २५ बलमा ३९ रनको महत्वपूर्ण पारी खेले । यसक्रममा अफ्रिदीले ५ चौका र २ छक्का प्रहार गरे ।

सन्दीपको टिम सिक्सरले अर्को खेल बुधबार चितगाउँ भिकन्ससंग खेल्नेछ ।