काठमाडौँ– नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गरेका छन् । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उनको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले चौथो पुस्ताको ‘फोर जी’ सेवालाई देशभर विस्तार गरिने बताए । सरकारले आगामी एक वर्षभित्र फोर जी सेवालाई विस्तार गर्ने कार्यादेश दिएको जानकारी दिँदै उनले सो अवधिभित्रै उक्त कार्य सम्पन्न गरिने बताए । टेलिकमले हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा विस्तार गरेको छ ।


ADVERTISEMENT

# # #


टेलिकमको सेवालाई गुनासोरहित गुणस्तरीय बनाउने सङ्कल्प आफूले लिएको स्पष्ट पार्दै उनले भने, “सेवा सुधारमा मेरो प्रमुख ध्यान रहन्छ । त्यसमा सम्पूर्ण कर्मचारीको साथ सहयोग र सक्रिय सहभागिता रहन्छ भन्ने मैले विश्वास लिएको छु ।” ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारमा समेत नजितामुखी काम गर्ने योजनामा आफू रहेको भन्दै प्रबन्ध निर्देशक अधिकारीले सरकारको योजना र लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा विस्तार र विकासमा लाग्ने स्पष्ट पारे ।

नेपाल टेलिकमप्रति आम नागरिकको ठूलो सद्भाव, साथ तथा सहयोग रहेको भन्दै उनले व्यावसायिक कर्ममार्फत विश्वसनीय र गुणस्तरीय सेवा दिने प्रण गरे । यस्तै टेलिकमको विलिङ प्रणालीलाई गुणस्तरीय र विश्वस्तरीय बनाउने, सेवा सुधारमा विशेष ध्यान दिने र सबै कर्मचारीलाई क्षमताअनुसारको जिम्मेवारी दिने अधिकारीले बताए । आधिकारिक टे«ड युनियनसँग मिलेर काम गर्ने भन्दै उनले कर्मचारीका अन्य सङ्गठनसँग पनि उत्तिकै भरोसा रहेकाले सबैले आफ्नो योग्यता र क्षमताअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

कूल रु १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमले गत आर्थिक वर्षमा रु ३९ अर्ब ४४ करोड आम्दानी गरेको थियो । टेलिकमले गत आवको नाफाबाट शेयरधनीलाई प्रतिशेयर रु ५५ मुनाफा दिने प्रस्ताव गरेको छ । टेलिकमले सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभरुपमा सबैलाई उपलब्ध गराउनाका साथै दूरसञ्चार क्षेत्रमा देशकै अग्रणी सेवा प्रदायकका रुपमा स्थापित हुने परिकल्पना गरेको छ । प्रगतिशील संस्थाका रुपमा ग्राहकको हित तथा सेवामा समर्पित रही देशभर भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराइ देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउने टेलिकमको अभियान छ ।

यस्तै देशका शहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । हाल टेलिकमका आधारभूत र मोबाइल फोन गरी कूल दुई करोड ग्राहक छन् । शेयर बजारमा बजार पूँजीकरणका आधारमा टेलिकम सधैँ अग्रस्थानमा रहँदै आएको छ । सो कम्पनीको रु एक खर्ब १० अर्ब १० करोड बराबरको बजार पूँजी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेपाल टेलिकमको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ७३४ मा खरीद बिक्री हुँदै आएको छ । बजार घटिरहँदासमेत नेपाल टेलिकमको शेयरमा कुनै प्रभाव परेको छैन ।

गत साउन २९ गते टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि सरकारले अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । मोबाइल ब्रोडब्याण्ड, अन्तर आबद्धता र व्याकबोन ट्रान्समिशनमा विशेष दख्खल राख्ने अधिकारीले टेलिकमलाई व्यावसायिक र थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ । –रमेश लम्साल/रासस