काठमाडौँ– सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा गोविन्द केसीका माग पूरा भइसकेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले डा केसीले भने बमोजिम नै विधेयक ल्याइसकेकाले उनले उत्सव मनाउनु पर्ने बताएका हुन् । ‘चिकित्सा शिक्षा सुधार गर्ने विषयमा उहाँले जे कुरा उठाउनु भयो, त्यसमा संसदका समितिहरुले पनि निर्णय लिइसकेका छन् । उहाँका मागहरुलाई पनि त्यसमा सम्बोधन गरिएको छ ।’ उनले भने, ‘उहाँले त उत्सव मनाउनु पर्ने बेला हो जस्तो लाग्छ । अन्य कुरा त उहाँले ककसको अनुरोधमा उठाउनु भएको छ ।’


ADVERTISEMENT

# # #


उनले डा केसीले नै आफ्ना माग कार्यान्वयन गर्न नदिएको बताए । सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘उहाँले जुम्ला र इलाममा मेडिकल कलेज चाहियो भन्नुहुन्छ । तर कहिले दिन पनि हुन्न भन्नु हुन्छ । यो अलि बुझ्न सकेको छैन ।’ डा केसीले उठाएका चिकित्सा शिक्षासंग सम्बन्धित मागहरु लगभग ९५ प्रतिशत पूरा भइसकेको जिकिर गरे ।