काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसीको १६ औं अनसनलाई बहुमतप्राप्त सरकारविरुद्ध ‘षड्यन्त्र’ का रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्।


ADVERTISEMENT


नेता भट्टराईले केसी अनसनको दोस्रो दिन बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै त्यसलाई शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्ध षड्यन्त्रका रूपमा प्रस्तुत गरेका छन्।


ADVERTISEMENT

# # #


‘विधेयकको आवरणमा डा. केसीलाई नेपालको शान्ति प्रक्रियाविरुद्ध, संविधानविरुद्ध र बहुमतप्राप्त कम्युनिस्ट पार्टीको सरकारविरुद्ध षड्यन्त्रमा कसरी प्रयोग गरिँदैछ भन्ने हिजो प्रकाशित उहाँको मागबाट स्पष्ट हुन्छ,’ भट्टराईले वक्तव्यमा भनेका छन्।

विधेयक चिकित्सा शिक्षालाई मर्यादित र सर्वसुलभ बनाउने उद्देश्यबाट विचलित नभएको उनको दाबी छ।

काठमाडौंभित्र मेडिकल कलेज खोल्न १० वर्षसम्म नियन्त्रण गर्ने र बाहिरका हकमा खोल्न उत्साहित गर्ने डा. केसीसँगको सहमतिलाई विधेयकको दफा १२ र दफा १३ (६) ले स्पष्ट गरेको उनले वक्तव्यमा भनेका छन्।

सार्वजनिक मेडिकल कलेज नभएका प्रदेशमा ऐन लागू भएको पाँच वर्षभित्र कम्तिमा एउटा सञ्चालन गर्नुपर्ने व्यवस्था विधेयकले सुनिश्चित गरेको उनले उल्लेख गरे। यसले प्रदेश नम्बर २ र सुदूरपश्चिममा तत्काल र काठमाडौंबाहिर अन्य स्थानमा मेडिकल कलेज सञ्चालन गर्न सरकारलाई बाध्य पार्ने भट्टराईको भनाइ छ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउनेबारे भट्टराईले भनेका छन्, ‘आसयपत्र लिइसकेका काठमाडौंबाहिरका मेडिकल कलेजका हकमा एकपटकलाई विशेष व्यवस्था गर्ने कुरा विधेयकमा छ। त्यो पनि विश्वविद्यालयले निर्णय गरेमा मात्र लागू हुन्छ। विश्वविद्यालयलाई बाध्य पार्न सकिँदैन।’