काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि चीनकी नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेट गरेकी छन्।


ADVERTISEMENT


बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत याङछीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु भएको हो। भेटमा चीनका उपराष्ट्रपतिले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश राजदूत याङछीले उपराष्ट्रपतिलाई हस्तान्तरण गरेकी छन्।


ADVERTISEMENT

# # #


भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध औपचारिक रुपमा सन् १९५५ मा स्थापित भए पनि निकै लामो सम्बन्ध रहेको बताए। उनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म फैलिएको र अत्यन्त प्रगाढ रहेको बताए। उनले नेपालका लागि चीनका नयाँ राजदूत याङछीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

उपराष्ट्रतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए। ‘एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ,’ उनले भने, ‘चीनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई समर्थन गरेको छ। नेपाल पनि आफ्नो भूमीमा चीन विरोधी क्रियाकलाप हुन दिने छैन।’

उपराष्ट्रतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए। उनले नेपालको समृद्धिमा चीनको साथ सहयोग रहनेमा विश्वस्त रहेको बताए। उपराष्ट्रपतिले नेपाल चीनसँग छिट्टै रेलमार्गबाट जोडिन चाहेको बताए।

भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको बताइन्। उनले आफू नेपाल आएको छोटो समयमै नेपालले चीनलाई उच्च प्राथमिकतामा राखेको पाएको बताइन्।

‘नेपाल आएको दश दिनभित्र मैले उच्च नेतृत्वसँग भेटघाट गर्न पाएँ। अरु देशमा यति सहज हुँदैन’, उनले भनिन्, ‘हामी कति घनिष्ठ छौँ भन्ने यसले देखाउँछ।’