चिकित्सा शिक्षा सुधारको लागि भन्दै डा. गोविन्द केसी यतिबेला इलाममा १६औँ अनसन बसिरहेका छन् । यही विषयमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव ऐन महरसंग गरिएको कुराकानी :


ADVERTISEMENT


तपाईहरुले बेलाबेलामा शैक्षिक मुद्दाहरु उठाउँदै आउनुभएको छ । डा. गोविन्द केसी पनि पटपटक शिक्षाको विषय उठाउँदै अनसन बसिरहनु भएको छ । यो पटकपनि उहाँ इलाममा अनसन बसिरहनु भएको छ । यो अनसनलाई कसरी हेरिराख्नु भएको छ ?


ADVERTISEMENT

# # #


डा केसीले यसरी पटकपटक अनसन बसिरहनु वास्तवमा दुर्भाग्य छ । किनभन्दा पहिलो कुरा कोही अनसन बसिरहेको छ भने त्यसको कारण के हो भनेर राज्यले खोजी गर्नुपर्छ । त्यो राज्यले गर्यो कि गरेन यो एउटा प्रश्न हो । तर मलाई लाग्छ, राज्यले उहाँका विषयमा ध्यान दिएको छ, मागहरु सम्बोधन गरेको छ । तर राज्यले ध्यान दिँदादिँदै एउटा हठी बालकजस्तै गरेर चर्चामा आउनका लागि र आफ्नो कामबाट भाग्नका निमित्त पटकपटक जसरी गोविन्द केसी अनसन बसिरहनु भएको छ, यसले सिंगो देशले नै कमजोर बनाएको छ भन्ने मलाई लाग्छ । उहाँहरुको व्यक्तित्व पनि यसैले विघटिन भइरहेको छ । उहाँ एउटा डाक्टर र प्राध्यापक हो । हामी नेपालीको डाक्टरप्रतिको एउटा आस्था, विश्वास र मर्यादा छ । त्यसैमा प्रध्यापकप्रतिको झन् आस्था छ । यी दुईवटै पेसा अंगालेको उहाँले त धेरै मर्यादित भएर बस्नुपर्छ । तर, त्यो पदीय मयार्दा कायम गरेको देखिएन । सरकारी तलब खाएर सरकारमाथि नै जसरी विषवमन गरिरहनु भएको छ, यो आफैमा गलत छ ।

अर्को, उहाँजस्तो प्रध्यापकले जुन किसिमका तुच्छ, अतिनिकृष्ट भाषाशैली प्रयोग गरिरहनु भएको छ, यसल हाम्रो बौद्धिक वर्ग कतातिर जाँदैछ भन्ने कुरालाई पुष्टि गरेको छ । उहाँले उठाएका करिब ९० प्रतिशत मागहरु पूरा भएका छन् । समाज र जनताको पक्षमा रहेका उहाँका सही मागहरुमा हाम्रो पनि दुईमत छैन । त्यसैका लागि हामी पनि लामो समयदखि संघर्ष गर्दै आएका छौँ । तर ती सबै कुराहरु विधेयक मार्फत समाधान भइरहदा बालहठ देखाएर फेरि अनसन बस्ने कुराले हामीलाई अत्यन्तै सशंकित बनाएको छ । आज उहाँ चिकित्सा शिक्षाभन्दा पर गएर राजनीतिक मागहरु उठाइरहनु भएको छ । एउटा पार्टीको सर्मथनमा अर्को पार्टीलाई विष वमन गरिरहनु भएको छ । यसले उहाँप्रति आज प्रशस्त प्रश्नचिन्ह पैदा भएका छन् । चिकित्सा शिक्षालाई छाडेर उहाँ एउटा निश्चित विचारको पक्षपोषण गरिरहनुभएको छ । यसप्रति हाम्रो घोर आपत्ति छ ।

डा. केसी अनसन बसिरहदा चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ । अबको संसद बैठकमा यसलाई जसरी पनि पास गर्ने कुरा सत्तापक्षका सांसदले गरिरहेका छन् । यसमा संगठनको तर्फबाट के छ प्रतिक्रिया ?

यो विधेयकका लागि म अनेरास्ववियुको तर्फबाट हार्दिक स्वागत गर्दछु । किनभने लामो समयदेखि यो विधेयक बन्न सकिरहेको थिएन । धेरैपटक यो विधेयकको विरुद्धमा डा. केसी अनसन बस्नुभयो । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउनका लागि कानुन बन्नुपर्छ भन्ने आवाज उठिरहदा जसले पनि लुटेर खाने भाँडोका रुपमा यसलाई प्रयोग गरिरहका थिए । तर, कानुन बनाउने हिम्म्त कसैले पनि गरेका थिएनन् । तर, यो संसदले, यो सरकारले कानुन बनाउने, विधेयक बनाउने जुन हिम्मत गरेको छ, यसको लागि म धन्यवाद भन्न चाहन्छु ।

यो विधेयक पास हुन्छ र हुनुपर्छ । जहाँसम्म डा केसीको अनसनको कुरा छ, उहाँले त्यो बालहठ त्याग्नैपर्छ । एक पटक सर्मथन गरियो भन्दैमा सधैँ समर्थन पाउँला भन्ने नसोचे हुन्छ । किकनी बढी खायो भने त चिनी पनि तीतो हुन्छ नि ! उहाँको अनसनप्रति मान्छे दिक्क भइसके । अहिले त पूयोजित ढंगले, कसैबाट परिचालित भएर उहाँले अनसन बसिरहनु भएको छ ।

त्यसको प्रमाण निकाल्न सक्नुहुन्छ ?

किन नसक्नु, मजाले निकाल्छौँ । उहाँले नै देखाइरहनु भएको छ नि । किन भने आज पनि उहाँ सरकारी कर्मचारी हो, डाक्टर र प्रध्यापक हो । कम्युनिस्ट पार्टीका नेतामाथि विष वमन गर्ने, आफूबाहेक सबैलाई दलाल माफिया देख्ने, अनि गगन थापा महान देख्ने । यो कुराले के प्रष्ट पारिरहेको छ ? गगन थापा स्वास्थ्यमन्त्री हुँदा पनि त उहाँ अनसन बस्नु भएको हो नि के गर्नुभयो त ? त्यतीखेर गगन थापालाई केले रोक्यो केसीका माग पूरा गर्न ? अनि आज गगन थापा कसरी महान ? म गोविन्द केसीलाई प्रश्न गर्न चाहन्छु, केपी ओली र प्रचण्ड लोकतन्त्रका लागि लडिरहँदा, राजतन्त्रकाविरुद्ध लडिरहँदा कहाँ हुनुहुन्थ्यो गोविन्द केसी ? त्यस कारण एउटा कर्मचारीले आफ्नो मर्यादा कायम गर्नुपर्छ ।

मैँले गोविन्द केसीको अहिलेको प्रवृत्तिलाई रामबहादुर बमजनसंग तुलना गरेको छु । रामबहादुर बमजनलाई पहिले पहिले मानिसहरुले साँच्चिकै यो धर्तीमा अर्को गौतम बुद्ध जन्मिएका हुन् भनेर उचाले । जसको आडमा उनले आज तीन चारवटा अपराध गरे । पहिलो अपराध छोरीचेली आनीहरुलाई बलात्कार गरे, दास्रो अपराध आफ अनुयायीहरुको हत्या गरे, तेस्रो अपराध अवैध तरिकाले अकुत सम्पत्ति आर्जन गरे, चौथो कुरा धेरै मान्छेको जिन्दगी बरबाद गरे । यी सबै अपराधको समयक्रममा पर्दाफास भइरहेको छ । यता गोविन्द केसीले प्रवृत्ति पनि त्यस्तै देखिन्छ । पहिले अनसन बस्दा सबैले सर्मथन गर्थे, राम्रा मुद्दा उठायो भन्थे । तर पछिपछि उहाँले समर्थनको मातमा चिकित्सा शिक्षा सुधारको मागलाई छाडेर राजनीतिक मुद्दाहरु उठाउनु भयो, अराजकता मच्चाउनु भयो । यो प्रकारको अपराध र अत्याचार कहिलेसम्म सहने त हामीले ? त्यसैले अब कानुनी उपचार खोज्नुपर्छ ।

कस्तो कानुनी उपचार ?

हामी चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीहरुलाई पनि हामी आह्वान गर्न चाहन्छौँ । नभए अनेरास्ववियुले यसको अगुवाइ गर्छ । डा केसी त्रिभुवन विश्वविद्यालयका प्रध्यापक हुनुहुन्छ । एउटा चिकित्सकले विश्वविद्यालयविरुद्ध, सरकारविरुद्ध आन्दोलन गरिरहन पाउँछ कि पाउँदैन ? यदि पाउँदैन भने त्यही अनुसार कारबाही गर्नुपर्यो । होइन भने हामी अदालत जान्छौँ गोविन्द केसीका विरुद्ध । दोस्रो कुरा म भन्न चाहन्छु, गोविन्द केसीलाई अनसन र चर्चाको लत लागिसकेको छ । जसरी लागूपदार्थको लत लागेकाले लागूपदार्थ सेवन गर्नका लागि जस्तोसुकै हर्कत गर्न पनि तयार हुन्छ, आज गोविन्द केसी पनि त्यस्तै हुनुभएको छ । यसको एउटै उपचार हो ‘पुर्नस्थापना केन्द्र’ । त्यो भनेको अदालत हो ।

अहिले चिकित्सा शिक्षा विधेयक संसदमा जाँदैगर्दा त्यसले डा. केसीको दूरदराजमा पनि मेडिकल कलेज खोल्नुपर्छ भन्ने माग पनि सम्बोधन गरिएको छ । तर, उहाँले अहिले काठमाडौँ उपत्यका बाहिर पनि मेडिकल कलेज खोल्नु हुँदैन भनेर नयाँ माग राख्नु भएको छ । यसमा के भन्नुहुन्छ ?

यही महत्वपूर्ण कुरा हो । यस अघिका उहाँका सबै मागहरु सम्बोधन भएका छन् । तर अहिले उहाँ आफ्ना पहिलेका माग भन्दा नयाँ माग ल्याउनु भएको छ । यसमा कति द्विविधात्मक छ अनुमान गर्नुस् । कम्रेड केपी ओलले भनेको कथाजस्तै पहिले हात्ति माग्ने, अनि झोला माग्ने । त्योपनि पाएपछि हात्तिलाई झोलाभित्र राख्दे भन्ने खालको माग उहाँले राख्नु भएको छ । जे भन्यो त्यही पुर्याउँदै गएपछि कसरी हुन्छ अप्ठ्यारो पार्ने नियत डा केसीको छ । यसमा सहमत हुन सकिन्नँ । उहाँको यही नियतका कारण समस्या सिर्जना भएको हो ।  म त भन्छु दुर्गममा मेडिकल कलेज होइन, राम्रो अस्पताल चाहिन्छ । मेडिकल कलेज त सहरमा चाहिने हो, जहाँ विद्यार्थीको अभाव नहोस् । झापाको मान्छे बझाङ गएर पढ्दैन ।

अर्को कुरा उहाँले अहिले चलिरहेका मेडिकल कलेजको बारेमा केही पनि बोल्नु भएको छैन । सायद त्यहाँबाट डा केसीलाई केही आउँदो हो । के ती सबै मेडिकल कलजे राम्रा छन् त ? यसमा पनि त अनुसन्धान गर्नुपर्यो ।अहिले मेडिकल कलेजको अभावमा वर्षेनी विद्यार्थी विदेश गइरहेका छन् । भने अर्बौँ रकम विदेशिएको छ । सरकारले यही कुरालाई व्यवस्थित गर्न खोजेको छ । तर, यसमा उहाँको ध्यान गएको छैन । त्यस कारण गोविन्द केसीलाई अविलम्ब अनसन फिर्ता गर्न अनुरोध गर्न चाहन्छु । नभए यसका कानुनी उपचार खोज्नुपर्छ र खोजिन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामी फेरि पनि उहाँलाई छलफल गर्न अनुरोध गर्छौँ । छलफलबाट नै समस्याको समाधान निकाल्न सकिन्छ । उहाँले यसरी अनसनकै बेइज्जत नगर्न म अनुरोध गर्दछु । होइन भने, हामी आफ्नो काम तयारी गर्छौँ ।