काठमाडौँ– स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि भूकम्पपीडितसँग अनुदान सम्झौता र किस्ता वितरण छिटो हुन थालेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


प्रदेश नं ३, ४ र ६ मा जेठ दोस्रो साता जनप्रतिनिधि निर्वाचित भई काम सुरु गरेपछि काममा तीव्रता आएको मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको हो । निर्वाचित प्रतिनिधिले काम सुरु गरेको एक महिनामा पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही २१ हजार २२३ ले बढेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी दोस्रो किस्ता लिनेको सङ्ख्या २२ हजार ११० ले बढेको छ । त्यसैगरी तेस्रो किस्ताको रु एक लाख लिनेको सङ्ख्या ९०४ ले बढेको एकाइका इन्जिनियर वीरेन्द्र कँडेलले बताए ।

जेठ १६ सम्म पाँच लाख ८१ हजार ७१९ घरधुरीसँग अनुदान सम्झौता भएकामा असार १६ मा छ लाख १७ हजार ६७४ पुगेको छ । एक महिनामा ३५ हजार ९५५ घरधुरीसँग सम्झौता भयो । यसअघि यो रुपमा कामले गति नलिएको उनले जानकारी दिए ।

निर्वाचित प्रतिनिधिले काम सुरु गर्नुअघि पाँच लाख ६२ हजार २१३ ले पहिलो किस्ता पाएकामा असार १६ मा पाँच लाख ८३ हजार ४३६ ले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता पाउनेको सङ्ख्या पनि एक महिनामा १८ हजार ७३९ बाट ४० हजार ८४९ पुगेको छ ।

यो अवधिमा तेस्रो किस्ता लिनेको सङ्ख्या एक हजार २०५ बाट दुई हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ । असार १४ गते प्रदेश नं १, ५ र ७ मा पनि स्थानीय तहको निर्वाचन भई मतगणना भइरहेको छ । यी तीन प्रदेशमा पनि निर्वाचनपछि पुनःनिर्माणमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।