काठमाडौं । टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केन आउँदो मार्चसम्म मैदान बाहिर हुने भएका छन् । गोलीगाँठोको लिगामेन्टमा रहेको चोटका कारण केन मैदान बाहिर हुने भएका हुन् ।


ADVERTISEMENT


उनी गएको आइतबार राति प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको खेलको क्रममा चोटग्रस्त भएका थिए । यो खेलमा युनाइटेड १–० ले विजयी भएको थियो र टोटनह्यामको उपाधि होड कमजोर बनेको थियो ।


ADVERTISEMENT

# # #


इंग्ल्याण्डका कप्तान रहेका २५ वर्षे केन मार्चको पहिलो हप्ता प्रशिक्षणमा फर्किने टोटनह्यामले जनाएको छ ।

यो सिजन २० गोल गरेका केन क्लबका सर्वाधिक गोलकर्ताको सूचिमा अघि छन् । उनले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमुण्डसँग अन्तिम १६ का दुवै लेग गुमाउने भएका छन् ।

यस्तै उनी लिग कप अर्थात काराबाओ कपको जनवरी २४ मा हुने सेमिफाइनलमा पनि मैदान बाहिर हुनेछन् । केनको बायाँ गोडाको गोलीगाँठोको लिगामेन्टमा चोट लागेको हो ।