मुक्तक -१


ADVERTISEMENT


नदेखूँ मन छट्पटिन्छ, कल्पना, तल्तली हुन्छ
ऐँठन भई सपनीमा, पसिना खल्खली हुन्छ
तिम्लाई यस्तो हुँदैन र, मायाले मन छुँदैन र ?
जति बिर्सन्छु भन्यो उति, सम्झना झल्झली हुन्छ ।


ADVERTISEMENT

# # #


मुक्तक -२

उधुम गर्थ्यौ उन्ताका त, उस्तै उस्तैको साख्खै बनी
सुनसान जस्तो देख्छु अचेल, उस्तै निराशाको धनी
खुशीको दीप बाल्नुपर्छ, नयाँ अध्याय थाल्नुपर्छ
रंगीन बनाई दिऊँ कि कसो, तिम्रो जिन्दगीलाई पनि ।

मुक्तक -३

आउँछु भनी कुराएर, अहिले पनि ढाँट्यौ तिमीले
आशमा राखी यतिकासम्म, फोश्रो आदर्श छाँट्यौ तिमीले
आफ्नै विवेक सक्किएर, सानो कुरामा फक्किएर
जुनीभरको कसम खाई, माया अन्तै साट्यौ तिमीले ।

मुक्तक – ४

जसको साथमा जिन्दगीका, ठूला ठूला जँघार तर्यौ
खतराहरू पन्छाएर, सुरक्षित बसाइँ सर्यौ
सारा इमान-धर्म हर्दै, मनभरी विषाद भर्दै
आफ्नो मानो पाको बनाइ, गुन गर्नेलाई बैगुन गर्यौ ।

मुक्तक -५

तिमीले दिएका दुःख पनि अमृतै मानी पिएको छु
जिन्दगीका कष्टहरू, सौभाग्य मानी लिएको छु
कहाँ खोजूँ खुशी-आनन्द ? कहाँ भेटूँ परमानन्द ?
त्यसैले त सारा जीवन, ‘उन’कै भरमा जिएको छु ।

– गोम बिक्रम
कल्लाबारी, पाल्पा ।