काठमाडौँ– विसं २०७२ वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त भएका खेलकूदका संरचना क्रमिक रुपमा पुनःनिर्माण हुँदैछन् । भूकम्पका कारण कतिपय खेलाडीले आर्थिक तथा भौतिक क्षति ब्योहोरे भने भूकम्पकै कारण खेलकूदका भौतिक संरचना दशरथ रङ्गशालालगायत अरु प्रमुख खेलस्थल नराम्ररी प्रभावित भएको थियो ।


ADVERTISEMENT


भूकम्पका कारण क्षतिग्रस्त बनेका खेल संरचनामध्ये सातदोबाटोको अन्तर्राष्ट्रिय पौडी पोखरी पुनःनिर्माण भइसकेको छ भने सबैभन्दा बढी क्षतिग्रस्त भएका त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको पुनःनिर्माण ७० प्रतिशतभन्दा बढी सकिएको छ । कुनै बेला रङ्गशालाको पौडी पोखरी र सातदोबाटोको पौडी पोखरीबाट सिजनमा रु एक करोडसम्म आम्दानी हुने गर्थ्यो। भूकम्पपछि त्यो पनि शून्य भएको थियो । फेरी सातदोबाटोको पौडी पोखरी निर्माण भएपछि आम्दानीको स्रोतसमेत खुल्नुका साथै खेलाडीलाई नियमित प्रशिक्षणका लागि विदेश धाउनुपर्ने बाध्यता हटेको छ ।


ADVERTISEMENT

# # #


आठौँ दक्षिण एशियाली खेककूद भएका बेला विसं २०५६ मा चीन सरकारले बनाइदिएको उक्त पौडी पोखरी भूकम्पका कारण क्षतिग्रस्त बनेको थियो । अहिले उक्त पौडी पोखरी चीन सरकारकै सहयोगमा पुनःनिर्माण भएको छ । चीन सरकारबाट नेपालमा निर्मित खेलकूदका भौतिक संरचना भूकम्पबाट क्षतिग्रस्त बनेपछि पुनःनिर्माणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुरुप सातदोबाटोस्थित यो पौडी पोखरीले नयाँ स्वरुप पाएको राखेपले जनाएको छ ।

चीनको आफ्नै प्राविधिकले निर्माण गरिरहेको पौडी पोखरीमा पहिलाको भन्दा नयाँ प्रविधि प्रयोग गरिएको छ । अबका दिनमा यो पौडी पोखरीमा एशियन र ओलम्पिक जस्ता प्रतियोगितासमेत गर्न मिल्ने पौडी प्रशिक्षक शङ्कर कार्की बताँछन् ।

यसैगरी भूकम्पपछि रोकिएको ए डिभिजन लिग यसै वर्षदेखि शुरु भएको छ । गत वैशाखमा एन्फामा कर्माछिरिङ शेर्पाको नयाँ नेतृत्व आएसँगै पहिलो प्रतिबद्धता नै लिग फुटबल शुरु गर्नु थियो । नभन्दै गत असोज १३ देखि नेपालमा लिग फुटबल शुरु भई पुस २४ गते सम्पन्न भएको छ ।

यसैगरी विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेपछि रङ्गशालामा कुनै पनि खेलकूदका गतिविधि हुन सकेका छैनन् । भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । रङ्गशाला पुनःनिर्माणको ७० प्रतिशत मात्र काम पूरा भएको छ । भूकम्प गएको करीब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माण शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माण कामले गति लिएको रङ्गशाला आगामी जेठसम्म सम्पन्न हुने लक्ष्य राखेपको छ ।

त्यस्तै घरेलु प्रतियोगिताहरू निरन्तर हुने कार्यतालिका समेत सार्वजनिक गरेको छ । यसले गर्दा वर्षैभरि खेलाडी व्यस्त रहनुले नेपाली फुटबलमा सम्भावनाको ठूलो मौकाका रूपमा हेर्न सकिने बताउँछन्– एन्फा प्रवक्ता किरण राई ।

यस्तै कीर्तिपुरस्थित इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई पनि भूकम्पले चिराचिरा पारिदिएको थियो । अहिले उक्त सेन्टर पुनःनिर्माणकै क्रममा छ । भूकम्पपछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित कभर्ड हलमा पनि प्राविधिकले पहेँलो स्टिकर टाँसिदिएका थिए । तर, मर्मतबिनै त्यही कभर्ड हलमा विभिन्न प्रतियोगिताहरू गरिँदै आएको छ ।

सबैखाले संरचना निर्माणसँगै खेलकूदलाई राष्ट्रिय दायित्वका साथमा जिम्मेवारीपूर्ण, समयसापेक्ष र आवश्यक पूर्वाधार तयार गर्दै धेरैभन्दा धेरै सम्भावनाका ढोका खोल्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टका अनुसार निर्माणाधीन संरचनालाई अन्तिम रूप दिने र नियमित प्रतियोगितालाई थप प्रभावकारी बनाएर अघि बढाउने तयारी गरेको जानकारी दिए ।

राष्ट्रिय खेलकूद परिषद् र सबै सङ्घको एउटै आवाज अबको सम्भावनालाई मूर्त रुप दिने र सोहीअनुसार अघि बढ्ने प्रतिबद्धता छ । यस्तोमा खेलकूद पर्यटन सम्भावनाका क्षेत्र पहिचान गर्दै पर्यटन र खेलकूदलाई एकै सिक्काको दुई पाटाका रूपमा विकास गर्ने लक्ष्य पनि राखेपले राखेको छ ।

भूकम्पका कारण खेल क्षेत्रले मात्र रु २० करोडभन्दा बढीको क्षति बेहोरेको थियो । नेपाली खेलकूदका अधिकाशं भौतिक संरचना तत्कालको आवश्यकता पूरा गर्न हतारमा बनाइएकाले त्यति धेरै क्षति बहोरेको र अब संरचना निर्माण गर्दा यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बताउँछन्, राष्ट्रिय खेलकूद परिषद्का पूर्व सदस्यसचिव युवराज लामा ।

विसं २०५६ मा आठौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता आयोजना गरेको नेपालले २०१९ मा पनि १३ दक्षिण एशियाली खेलकूद गर्ने अवसर पाएको छ । क्षतिग्रस्त खेलकूदका संरचना यथाशक्य चाँडो निर्माण गरी उक्त प्रतियोगिता आयोजना गर्नु नेपालका लागि अहिले चुनौतीको विषय बनेको छ । –कुमार चौलागाईं/रासस