काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक सम्मेलनमा भाग लिन आज (आइतबार) स्वीट्जरल्याण्ड जाँदैछन्।


ADVERTISEMENT


स्वीट्जरल्याण्डको डाबोसमा ८ देखि ११ माघसम्म सञ्चालन हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा राती ९ बजे नेपाली प्रतिनिधि मण्डल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ।


ADVERTISEMENT

# # #


ओलीले सम्मेलनको दुई सत्रमा सम्बोधन गर्नेछन्। ओलीले ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ र ‘बियोन्ड द जिडिपी’ सेसनलाई संवोधन गर्ने कार्यक्रम छ। नेपालले पहिलो पटक यो मञ्चमा भाग लिन लागेको हो। मञ्चमा विश्वका धनी देशहरुको सहभागिता छ।

मञ्चमा विश्वका विकसित देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजार बढीको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीले सम्मेलनका दुईवटा औपचारिक सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

लामो राजनीतिक अस्थिरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णीम अवसर भएको अर्थशास्त्रीहरूले बताएका छन्। यो सरकारका लागि वैदेशिक लगानी आकर्षित गर्ने ठूलो अवसर भएको उनीहरुको भनाई छ।

विश्वका धनी राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने मञ्चको ५० वर्षे इतिहासमा नेपालले पहिलोपटक प्रवेश पाएको हो।

भ्रमणका क्रममा ओलीले स्वीस र भियतनामका कार्यकारी प्रमुखहरूसँग वार्ता गर्ने कार्यक्रम छ भने आयोजक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्केवाभले आयोजना गरेको रात्रिभोजमा ओली सहभागि हुने छन्। ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति वेली माउरासँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

सो अवसरमा उनले विश्व आर्थिक मञ्च र निजी कम्पनीका केही प्रमुखहरूसँग समेत भेटवार्ता गर्नेछन्। औपचारिक सम्वोधन, अनौपचारिक भेटवार्ता, द्विपक्षीय र बहुपक्षीय वार्तामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले जनवरी २४ मा जी–२० मुलुकसहितका देशका नेताहरूसँग पनि छलफल गर्दैछन्।

ओलीले विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्यान्ड जान लागेको शुक्रबार संसद्लाई जानकारी गराएका थिए।