काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । संसदको कार्यसूचिमा सोमबारका लागि चिकित्सा शिक्षा विधेयक पारितका लागि पेश गर्ने उल्लेख छ ।


ADVERTISEMENT


विधेयकमा आफ्ना माग नसमेटिएको भन्दै डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा रहेकै बेला सरकारले भने डा. केसीका सबै माग पूरा गरेको दाबी गर्दै विधेयक पारित गर्ने तयारी गरेको हो । सोमबार दिउँसो १२ बजेपछि बस्ने बैठकमा विधेयक निर्णयका लागि प्रस्तुत हुने तयारी छ ।


ADVERTISEMENT

# # #


संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीका माग समेत समेटेर विधेयकलाई अन्तिम रुप दिइ संसदको पूर्ण बैठकमा पेश गरेको र अब त्यो पारितको तयारी रहेको सरकारले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले आइतबार अनशनरत प्राध्यापक डा. गोविन्द केसीको सबै माग पूरा भइसकेको दाबी गरेका थिए । रिपोर्टर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा उनले भनेका थिए, “काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा. केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।”

सरकार र मन्त्रीहरुले उनका माग पूरा भएको बताए पनि डा. केसी भने आफ्ना माग पूर्णरुपमा सम्बोधन नभएको भन्दै १६ औँ अनशनमा छन् । इलामाबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति काठमाडौँ ल्याइएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारसहित अनशनमा छन् ।