काठमाडौँ– सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्ला, बाजुरा लगायत देशका पश्चिमी हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ ।


ADVERTISEMENT


हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।


ADVERTISEMENT

# # #


अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ ।

यस्तै सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो । मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ । हिमपात हुने क्रम अझै जारी छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन् ।

सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ ।

हिमपातले विद्यार्थीको ‘ट्युसन’ बन्द

हुम्लामा हिमपात हुँदा एसइई तयारी गर्न ‘ट्युसन’ पढ्ने विद्यार्थीको समेत बिहानको पढाइ बन्द भएको छ । जिल्लामा भारी हिमपात हुँदा पढाइ बन्द गर्नुपरेको मानसरोवर माविका शिक्षक धनबहदुर ऐडीले बताए । यसअघि हिमपात हँुदा ‘ट्युसन’ सञ्चालन गरिए पनि सोमबार रातिदेखि हिमपातसँगै चलेको हुरीले पढाउन नसकिएको शिक्षक ऐडीले बताए ।