काठमाडौँ– काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा आज आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे ।


ADVERTISEMENT


चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका लागि महानगरको प्राथमिक काम पूर्वाधार नै रहेको जानकारी दिँदै कला, संस्कार, साहित्य र सिर्जनालाई प्रोत्साहन गर्न केही रकम लगानी गरिएको बताए । कार्यक्रममा सङ्घीय संसद् सदस्य रामवीर मानन्धरले मोतीका रुपमा रहेका कलाकर्मीको उचित सम्मान हुन नसक्नु दुःखद् हो भने । फाउण्डेशनका अध्यक्ष केसीले देशका सम्पत्ति कलाकारको सम्मान नगरेसम्म संस्कृतिलाई जीवन्त राख्न नसकिने धारणा राखे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कलाकार ज्ञानु राणा, मीरा राणा, सङ्गीता शाक्य र गीता पाण्डेले तारादेवीको स्वरमा सजिएका १४ गीत प्रस्तुत गरेका थिए । तारादेवी विसं २००२ माघ २ गते काठमाडौँको इन्द्रचोकमा बाबु कृष्णबहादुर कार्की र आमा राधादेवीका छोरीका रुपमा जन्मिएकी थिइन् । विसं २०२२ मा तारादेवीको शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह भएको थियो । आफ्नो मृत्यु हुनुअघि नै उनले एक छोरा र पति गुमाइसकेकी थिइन् । हाल उनका एक छोरा र छोरी छन् । उत्कृष्ट गायन कलाबाट नेपाली गीतसङ्गीतलाई प्रवर्धन गरेकी तारादेवीलाई २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । उनको २०६२ साल माघ १२ गते निधन भएको हो ।