काठमाडौँ– प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै भने,‘अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरीकन ल्याईएको हो, हाम्रो परामर्श बिनै ल्याईएको यो प्रस्ताव कुनै पनि हालतमा हामी पास गर्न सहयोग गर्दैनौं, यदि साँच्चिकै संविधान संशोधन गर्नुपर्ने हो भने राजपासहितका सबै मुलधारका दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्छ।’


ADVERTISEMENT

# # #


उनले एमालेबाहेक नै संशोधन प्रस्तावमा दुई तिहाई पुर्याउँछौं भनेर कांग्रेस र माओवादी केन्द्रले कसम खाएको उल्लेख गर्दै भने,‘एमाले संविधान संशोधनको विपक्षमा कहिल्यैपनि छैन, तर संशोधनको औचित्य पुष्टि हुनुपर्यो भन्ने कुरा हो।’ उनले असोज २ गतेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि पनि संशोधन गर्न सकिने बताए ।

‘तेस्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुनै सक्दैन त भनेर म अहिले भन्दिन्,’उनले थपे,‘तर यसको लागि सदनमा विचाराधिन रहेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ, अब एमालेसहित बसेर नयाँ प्रस्ताव तयार पारियो भने एमालेले पास गराउन सहयोग गर्छ।’ यद्धपी उनले माघ ७ गतेभित्रै सबै चरणको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले समयको चापलाई हेरेर अहिले संशोधनको नाममा अल्झिन नहुने धारणा राखे ।

हालै सम्पन्न दोस्रो चरणको निर्वाचनमा पनि तराई मधेशमा जनताहरुले उत्साहजनक सहभागिता जनाएको उल्लेख गर्दै जनताको यस्तो भावनालाई बुझेर राजपा नेपाल चुनावमा जानुपर्ने बताए । उनले चुनावमा भाग लिनेलाई कारवाही गर्छु भन्नु मुर्खता भएको समेत टिप्पणी गरे ।