काठमाडौँ– दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ ।


ADVERTISEMENT


यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का १०९, प्रदेश नं ५ का ९४ र प्रदेश नं ७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।


ADVERTISEMENT

# # #


आज अपराह्न ३ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले) एक हजार १२४, नेपाली काँग्रेस १०७, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम नेपाल छ , मधेसी जनअधिकार फोरम नेपाल पाँच, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार एक स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १४५, काँग्रेस ९१, माओवादी केन्द्र ३६, फोरम पाँच, नेपाल लोकतान्त्रिक फोरम तीन तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

हाल १० जिल्लाका ४६ स्थानीय तहमा मतगणना भइरहेको छ भने चार स्थानीय तहमा मतगणना स्थगन भएको छ । धरान नगरपालिका– ९ को मतगणना समाप्त भएपछि जोड्ने क्रममा विवाद भएको तथा झापाको अर्जुनधारा– २ मा एक थान पत्र नपुगेकामा विवाद भई मतगणना रोकिएको जनाइएको छ ।

त्यस्तै उदयपुरको बेलका नगरपालिकामा खसेको मत सङ्ख्याभन्दा तीन मत बढी भएको तथा कञ्चनपुरको पुनर्वास नगरपालिका– १ मा उप्रमुखको खसेको मतभन्दा ११२ मत बढी भएका कारण विवाद उत्पन्न भई मतगणना स्थगन भएकामा सर्वदलीय बैठकबाट सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ । दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।