काठमाडौं । करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ।


ADVERTISEMENT


सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो। यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ।
राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई २००७ सालमा प्रजातन्त्र स्थापनापछि सहिद घोषणा गरी माघ १६ गते सहिद दिवस मनाउन थालिएको इतिहास छ।


ADVERTISEMENT

# # #


माथेमा, शास्त्री, श्रेष्ठ र चन्दलाई १९९७ साल माघमा फरकफरक मितिमा फाँसी दिएर र गोली हानेर हत्या गरिएको थियो। तर २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफूअनुकूल सहिद घोषणा गर्दा संख्या बढेर १२ हजार हाराहारीमा पुगेको छ।

सरकारले हचुवाका भरमा सहिद घोषणा गर्न थालेको भन्दै विज्ञहरूले आपत्ति जनाउँदै आए पनि सरकारले फेरि सहिदको संख्या थपेको छ। गृह मन्त्रालयले सहिदको संख्या १२ हजार हाराहारीमा पुगेको जनाएको छ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले सहिद दिवसका अवसरमा थप दुई हजार आठ सय सातजनालाई सहिद घोषणा गरेको छ। तत्कालीन माओवादीले सञ्चालन गरेको ‘सशस्त्र युद्ध’ का क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले सहिद घोषणा गरेको हो।

गृह मन्त्रालयका पूर्वसचिव डा. गोविन्द कुसुम प्रश्रित आयोगले दिएको सुझावका आधारमा सहिद घोषणा गर्नुपर्ने बताउँछन्। ‘संघीयता कार्यान्वयनमा संक्रमणकालीन कालको व्यवस्थापन गर्ने सन्दर्भमा त्यस्ता विषयलाई राज्यले हेर्नुपर्ने अवस्था आउँछ तर सहिद घोषणा भने मोदनाथ प्रश्रितको संयोजकत्वमा बनेको आयोगले दिएको सुझावका आधारमा गर्नुपर्छ। त्यसो भयो भने सबैलाई न्याय हुन्छ’, पूर्वसचिव कुसुमले भने।

उनका अनुसार स्वतन्त्रता संग्राम हो कि राजनीतिक उद्देश्य प्राप्ति वा जनआन्दोलन वा निरंकुश शासनविरुद्ध संघर्ष गर्दा सहिद भएको हो भन्ने विषयमा सरकार प्रस्ट हुनुपर्छ। ‘विवाद आउन सक्छ। वर्गीकरणअनुसार सहिद घोषणा गरौं, जसले सहिदको मर्म र भावनाको उच्च सम्मान होस्, सहिद भनेपछि श्रद्धाले सबैको शिर झुकोस्’, उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरीको १८औं वार्षिकोत्सवमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई सहिद घोषणा गरिएको जानकारी दिए।