काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा औपचारिक रूपमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहका लागि अहिले खुलामञ्चमा तयारी भइरहेको छ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने मूल नारासहित कांग्रेसले महाधिवेशन आयोजना गरेको हो ।
महाधिवेशनअन्तर्गत बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते सञ्चालन हुनेछन् । त्यसपछि निर्वाचन कार्यक्रम असोज २१ र २२ गतेका लागि तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार गरिएको थियो । प्रतिनिधि दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
दर्ता भएका प्रतिनिधिहरूलाई कांग्रेसले झोलासहित आवश्यक सामग्री उपलब्ध गराएको छ । झोलामा पार्टी विधान, डायरी, डटपेन, प्रतिनिधि परिचयपत्र तथा खाना, खाजा र नास्ताका लागि कुपन राखिएको छ ।
















