काठमाडौं । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । दुई खर्ब रुपैयाँको लगानी भएको र वार्षिक १५० अर्ब रुपैयाँको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।


ADVERTISEMENT


निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गरे । ‘अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ,’ थापाले भने ।


ADVERTISEMENT

# # #


सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखिमात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष थापाले नेपालमा गएको वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको जानकारी दिए । उनले भने, ‘उत्पादन क्षमता भने एक करोड ३० लाख टन रहेको छ तर विभिन्न कारणले केही विदेशी उद्योगीका सिमेन्ट गुणस्तरका लागि पाँच प्रतिशतमात्रै गत वर्ष आयात भएको थियो ।’ अबदेखि त्यो पनि आयात नहुने बताइएको छ ।

आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६÷७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ ।

विश्वमै महँगो उत्पादनका रूपमा नेपालको सिमेन्ट रहेको बताइएको छ । आगामी वर्ष एक करोड १० लाख टन माग हुने र उत्पादन भने एक करोड ७० लाख टनमा पुग्ने अनुमान गरिएको छ । ‘त्यसैले अब निर्याततर्फ हामी जानै पर्छ,’ संघका महानिर्देशक गोकुल धितालले भने ।

विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेको छ । सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको थापाले जानकारी दिए ।

नेपालमा चुन भण्डार प्रशस्त रहेको छ । सरकार परिवर्तन भएसँगै नीतिमा आउने परिवर्तन, श्रम कानूनमा देखिएको समस्या विदेशी जनशक्ति ल्याउनुपर्ने अवस्था, खानी तथा वनसँग हुने समस्या स्थानीय तह र प्रदेशले पनि करमा हिस्सा खोज्नेलगायत समस्या रहेको व्यवसायीले बताएका छन् । नेपालमा कच्चापदार्थ र कोइला नहुँदा पनि ठूलो समस्या छ ।

व्यवसायीले विदेशी उद्योगीलाई प्रोत्साहनभन्दा नेपाली उद्योगलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपालमा ९२७ गुणस्तर स्वीकृत भएका उद्योगमध्ये ३७० ले अनुमति प्राप्त गरिसकेको जानकारी दिए ।

नेपालमा नमूना संकलन गरिएका सिमेन्ट उद्योगमध्ये कम मात्रैमा समस्या रहेको भन्दै उनले पछिल्लो समयमा आधुनिक प्रविधिको प्रयोगका कारण नेपाली सिमेन्ट गुणस्तरयुक्त रहेको बताए ।

हालसम्म नेपालमा ६९ वटा उद्योगले गुणस्तर प्राप्त गरिसकेको उनको भनाइ थियो । कूल १३४ ले लाइसेन्स प्राप्त गरेको पुडासैनीले जानकारी दिए । नेपालमा पूरा क्षमतामा चल्ने हो भने नेपाली सिमेन्टको बजार रु २५० अर्बको रहेको उनको भनाइ थियो ।

खानी तथा भूगर्भ विभागका इञ्जिनियर जयराज घिमिरेले नेपालमा चुनखानीको प्रवर्द्धन गर्ने कार्यक्रम शुरु गरेको जानकारी दिँदै १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको उल्लेख गरे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतका ऐन कानून तत्कालै हटाउन नसकिने भएकाले परिवर्तन हुने चरणमा रहेको भन्दै उद्योगलाई कसरी विकास गर्न सकिन्छ भनेर सरकार लागि परेको बताए ।

उनले भने, ‘सहकार्य गरौँ, कहाँ कहाँ समस्या छ, छलफल गरौँ, सरकारको उद्देश्य भनेकै उद्योगको विकास गरी आर्थिक समृद्धि ल्याउने हो ।’ उद्योगको विकास नगरी र निजी क्षेत्रसँग सहकार्य नगरी समृद्धि नआउने उनको भनाइ थियो । (रासस)