काठमाडौँ– युएईसंगको टी २० सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । नेपाले युएईलाई चार विकेटले हराउँदै ३ खेलको सिरिज १-१ ले बराबरी गरेको हो । यसअघि भएको खेलमा नेपाल २१ रनले पराजित भएको थियो । आजको जितसंगै नेपालले सिरिज जित्नका लागि आफ्नो सम्भावना कायमै राखेको छ ।


ADVERTISEMENT


यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।


ADVERTISEMENT

# # #


१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् । नेपालका लागि प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७ र कप्तान पारस खड्का शून्य रनमै आउट भए । त्यस्तै सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

नेपालका अनुभवि कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । यद्यपी ज्ञानेन्द्र मल्ल र करण केसीले तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । यो नेपालको दोस्रो ठूलो साझेदारी हो । मल्ल ७ रनमा ६.१ ओभरमा आउट भएपछि करण नेपालको ३९ रन हुदा ब्यक्तिगत २० रनमा आउट भए ।

यसअघि दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको युएईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनायो । उसका लागि सीपी रिजवानले ४४ रन बनाउनु बाहेक अन्यले खुलेर खेल्न सकेनन् । रिजवानले ४३ बलमा ४ चौका र एक छक्का हाने । यस्तै सैमन अनवर १४ र मोहम्मद बूटाले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने अभिनास बोहराले ३ विकेट हात पारे । अभिनासले ४ ओभरमा २० रन खर्चिएर उत्कृष्ट योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले पहिलो र दोस्रो विकेट दिलाए । सोमपालले नेपाललाई पहिलो विकेट दिलाउने क्रममा अस्फाक अहमेदलाई ४ रनमा आउट पारे । उनले अस्फाकलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । यस्तै दोस्रो विकेटका रुपमा उनले गुलम सब्बीरलाई ६ रनमा पेवेलियनको बाटो देखाए । सब्बीरलाई विकेटकिपर प्रदीप ऐरीले क्याचआउट गरे ।

छैटौँ ओभरमा बलिङमा आएका सन्दीप लामिछानेले उक्त ओभरमा दुई विकेट निकाल्दै युएईलाई दबाबमा राख्न सफल भए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बल डट फाले । दोस्रो ओभरमा १ रन दिएका सन्दीपको तेस्रो बलमा सैमन अनवरले २ रन जाडे । चौथो बलमा भने सन्दीपलाई अनवरले छक्का ठोके । यसलगत्तै सन्दीपले कमब्याक गरे ।

उनले पाँचौँ बलमा सैमनलाई आउट पारे भने ओभरको अन्तिम बलमा मोहम्मद उस्मानलाई गोल्डेन गकआउट पारे । सैमनले १० बलमा १ छक्का र १ चौकाको मदतमा १४ रन बनाउँदा उस्मान शून्य रनमै फर्किन बाध्य भए । अनवर र मोहम्मद उस्मानलाई कप्तान पारसले नै क्याच गरेका थिए ।

नेपालले तेस्रो तथा अन्तिम खेल आइतबार खेल्नेछ ।