माघ २०, काठमाडौं । एकताको बाँकी कामको खाका तयार गर्ने म्यान्डेट पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदल निष्क्रिय भएपछि सदस्यहरू नै असन्तुष्ट बनेका छन् ।


ADVERTISEMENT


पुस मसान्तसम्म एकताको खाका तयार पार्ने कार्यादेशविपरीत केही नेता अन्यत्र सक्रिय भएपछि सदस्यहरूले संयोजक रामबहादुर थापा ‘बादल’लाई बैठक बोलाउन दबाब दिने निष्कर्ष निकालेका छन् ।


ADVERTISEMENT

# # #


एक–दुई दिनभित्र बैठक नबोलाइए संयोजक बादललाई भेटेर बैठक बोलाउन दबाब दिने सहमति भएको कार्यदलका एक सदस्यले बताए । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले बैठक बोलाउन रुचि नराखेकाले सदस्यहरू अन्योलमा छन् ।

कार्यदलको जिम्मेवारीमा रहेका नौ नेतामध्ये मुख्यमन्त्री शंकर पोखरेल सरकार सञ्चालनको काममा प्रदेश ५ मै व्यस्त छन् । अन्य दुई सदस्य वर्षमान पुन र योगेश भट्टराई पार्टी कार्यक्रमको सिलसिलामा रोल्पामा छन् ।

संयोजक बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सरकारी काममा व्यस्त छन् । महासचिव विष्णु पौडेल, लेखराज भट्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे काठमाडौंमै रहे पनि केही सदस्य बाहिर रहेकाले तत्कालै बैठक बस्ने स्थिति छैन ।

पार्टी एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठनलगायत गृहकार्य गर्ने जिम्मेवारी कार्यदललाई छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पुस मसान्तभित्र सबै काम सकेर प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

ओलीको सन्देशले रोकियो बैठक
१२ पुसमा सम्पन्न स्थायी समिति बैठकबाट गठित कार्यदलको बैठक ७ पटक बस्यो । पछिल्लोपटक ६ माघमा बसेको बैठकमा महासचिव विष्णु पौडेलले प्रदेश कमिटीका सदस्यहरूको नामावली केन्द्रीय सचिवालयले टुंग्याएर सर्कुलर जारी भइसकेकाले नचलाउन अध्यक्ष ओलीको निर्देशन आएकोे जानकारी गराएका थिए ।

तर, बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालनिकट सदस्यहरूले कार्यदललाई दिइएको म्यान्डेटविपरीत निर्देशन आएको भन्दै प्रतिवाद गरेका थिए ।