काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । सेमिफाइनलमा चिर प्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना प्रतिस्पर्धी रहेकाले विश्वभरका फुटबल प्रेमीको ध्यान खिचिएको छ ।


ADVERTISEMENT


दुई लेगमा हुने सेमिफाइनल अन्तर्गत बुधबार एल क्लासिको अर्थात बार्सिलोना भर्सेज रियल मड्रिडको पहिलो लेग हुँदैछ । बार्सिलोनाको मैदान क्याम्प नाउमा बुधबार मध्य रातमा हुने खेलमा दुवै टोली आफ्नो प्रभाव बलियो बनाउने लक्ष्यमा छन् ।


ADVERTISEMENT

# # #


एल क्लासिकोअघि ला लिगाको खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको थियो भने बार्सिलोना बराबरीमा रोकिएको थियो ।

भ्यालेन्सियासँगको खेलको क्रममा दुई गोल गरेर चोटग्रस्त बनेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बुधबारको एल क्लासिकोमा खेल्न सक्ने वा नसक्ने यकिन भएको छैन ।

बार्सिलोनाले एल क्लासिकोका लागि तय गरेको टिममा मेस्सीको नाम समावेश छ । तर मेस्सी मैदानमा गएर खेल्ने वा नखेल्ने भने अन्तिम समयमा मात्रै निर्णय हुनेछ । मेस्सीको दायाँ थाइमा चोट लागेको छ ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्तो भेल्भार्डेले भनेका छन्, ‘कहिले काहिँ खेलाडीको अवस्थाका बारेमा दुविधा हुन्छ र निर्णयका लागि अन्तिम समयसम्म पर्खनु पर्छ । अहिले मेस्सीको अवस्था पनि यस्तै छ।’

अबको २५ दिनमा तीनवटा एल क्लासिको हुँदैछन् र बुधबारको एल क्लासिको त्यसमध्येको पहिलो हुनेछ । यसपछि दोस्रो लेगमा फेब्रुअरी २७ मा रियलको मैदानमा खेल हुनेछ ।

यसैगरी ला लिगा अन्तर्गत आउँदो मार्च २ मा बार्सिलोना र रियल मड्रिडबिच खेल हुने तय छ ।

बुधबारको खेलमा बार्सिलोनाका युवा खेलाडी उसमान डेम्बेले पनि चोटका कारण मैदानमा हुने छैनन् ।