काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा २ प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको छ । माघ २४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क बनाउन लागेकोमा विरोध जनाएको हो ।


ADVERTISEMENT


आइतबार केन्द्रीय कार्यालय सानेपा गरिएको पत्रकार सम्मेलमा काँग्रेस प्रवकता विश्वप्रकाश शर्माले यस विषयमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउँदै वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रवक्ता शर्माले २०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा. काशचन्द्र लोहनीबाट वीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताए । उनले वर्तमान सरकारले जीवनभर लोकतन्त्रका लागि लडेका दिवंगत नेताको नाममा रहका संरचनामा एकपछि अर्को आक्रमण गरिएको भन्दै निर्णय तत्काल नसच्याए कडा रुपमा उत्रिने चेतावनी दिए ।

उनले भने, ‘सरकारको शैली जुन प्रकारको देखियो । त्यो बदल्नुपर्छ, यसमा केन्द्रीय सरकारले गम्भीरता राखोस्, प्रदेश सरकार पनि गम्भीर बनोस्, वीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रुपमा अगाडि बढोस् । होइन भने काँग्रेस संसद र सडकबाट पनि निर्णय उल्टाउन बाध्य हुनेछ ।’

गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्यानको जग्गामा सहिद पार्क बनाउने भन्दै शिलान्यास गरेका थिए । उनले उक्त १० बिगाह जग्गा वीपी उद्यान निर्माणका लागि २०४९ सालमा यातायात संस्थानबाट खरिद गरिएको बताए । हाल उक्त जग्गा वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको छ ।