काठमाडौँ– दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सीवाइसी अत्तरिया धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको क्वालिफायर्सको पहिलो खेलमा अत्तरियाले काठमाडौँलाई पाखा लगाउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको हो ।


ADVERTISEMENT


फाप्ला मैदानमा टस जितेर ब्यटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ११० रन बनायो । १११ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको काठमाडौँ १८.३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमै समेटियो । काठमाडौँका लागि गौरव तोमारले २६, कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


अत्तरियाका लागि सन्नी पटेलले ३ विकेट लिए । उनले ४ ओभरमा एक मेडेनसहित १८ रन खर्चिए । यस्तै कमल सिंह ऐरी र भुवन कार्कीका नाममा पनि समान २/२ विकेट रह्यो । दीपेन्द्र ऐरीले १ विकेट लिए । उनले चार ओभरमा एक मेडेनसहित मात्र ८ रन खर्चिए ।

यसअघि अत्तरियाका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । उनले ३४ बलमा ५ चौका प्रहार गरे । यस्तै सन्नी पटलले २४ बलमा २८ रन बामए । त्यस क्रममा उनले १ चौका र २ छक्का प्रहार गरे । सुवेन्दु पोण्डे १६ र जय किसन कोल्सावाला १३ रनमा आउट भए ।

यता काठमाडौँका लागि अंकित अब्दास र सूर्य तामाङले समान २/२ विकेट लिए भने रासिद खान र योगेन्द्र सिंह कार्कीले समान १/१ विकेट हात परे । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा काठमाडौँलाई नै सात विकेटले हराउँदै अत्तरिया शीर्ष स्थानमा रहँदै क्वालिफयर्समा प्रवेश गरेको थियो ।

काठमाडौँले अब दोस्रो क्वालिफायर्सको विजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ । दोस्रो क्वालिफायर्समा बिहीबार शरद भेषवाकरको महेन्द्रनगर युनाइटेड र वसन्त रेग्मीको रुपन्देही च्यालेन्जर्स भिड्नेछन् ।