विराटनगर– विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।


ADVERTISEMENT


गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गरिन् । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गरेकी थिइन् ।

उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्षलगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९मा काँग्रेसका विद्रोेही समूहले जितेको छ ।

सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी छवटा वडामा, नेकपा एमालेले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६मा जित हात पारेको छ भने वडा नं १०मा स्वतन्त्रले जित हात पारेको छ ।

उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

विराटनगर–३ को पोखरिया निवासी ४४ वर्षीय भीम पराजुली काँग्रेसको नगर सभापति हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी महेन्द्र मोरङ कलेजको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट २०५५ सालमा सदस्य, २०५७ सालमा कोषाध्यक्ष, २०५९ सालमा सचिव र २०६१ सालको निर्वाचनमा स्ववियुको सभापतिमा निर्वाचितभएका थिए । रासस