काठमाडौँ– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको एलिमिनेटरमा महेन्द्रनगर युनाइटेडले जित निकाल्दै दोस्रो क्वालिफयर्समा प्रवेश गरेको छ । रोमाञ्चक खेलमा महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई एक रनले पराजित गरेको हो । आजको हारसंगै रुपन्देही भने प्रतियोगिताबाट बाहिरिएको छ ।


ADVERTISEMENT


फाप्ला मैदानमा टस जितेर ब्याटिङ रोजेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा ११५ रन बनायो । १ सय १६ रनको लक्ष्य पच्छ्याएको रुपन्देही २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रनमै समेटियो । अन्तिम ओभरमा ५ रन चाहिएको अवस्थामा रुपन्देहीले ४ रन बनाउँदा तीन विकेट गुमाएपछि महेन्द्रनगरको रोमाञ्चक जित भएको हो ।


ADVERTISEMENT

# # #


रुपन्देहीका लागि बाबर हायातको उत्कृष्ट ओपनिङ तथा प्रदीप ऐरी र विनोद भण्डारीको साझेदारीले कुनैबेला जित नजिक पुर्याएको थियो । तर अन्तिममा महेन्द्रनगरले उत्कृष्ट पुनरागमन गर्यो ।

बाबर हायातले २८ रन हाने । उनले २९ बलमा २ चौका र एक छक्का प्रहार गरे । यस्तै अन्तिम ओभरमा रनआउट हुनुअघि प्रदीप ऐरीले २० बलमा ४ चौकाको मदतमा २८ रन बनाए । यस्तै विनोद भण्डारीले २१ बलमा १ चौका र एक छक्का प्रहार गर्दै २३ रन जोडे । सन्दीप सुनार १४ रनमा आउट हुँदा सुमित महर्जन १० रनमा पेवेलियन फर्किए ।

रुपन्देहीको जितका लागि अभिनास बोहरा तगारो बने । अन्तिम ओभरमा बलिङमा आएका उनले ४ रन मात्र खर्चिएर तीन जनालाई पेवेलियन फर्काउन महत्वपूर्ण भूमिका खेले । म्यान अफ द म्याच बनेका उनले चार ओभरमा १३ रन खर्चिएर २ विकेट लिए । यस्तै सिद्धान्त लोहनी, सागर ढकाल र मोहम्मद नाभिदले समान १/१ विकेट लिए ।

यसअघि महेन्द्रनगरका लागि कप्तान शरद भेषावाकरले २९ रन बनाए । एकपछि अर्को विकेट गुमाएर दबाबमा आएको महेन्द्रनगरको इनिङसलाई उकासेका शरदले ३८ बलमा २ चौका प्रहार गरे ।

अमरसिह रौटेलाले १९ रन जोड्दा जिदेशी खेलाडी आन्नदले २० तथा मोहम्मद नाभिदले १८ रन बनाए । आरीफ शेखले १२ तथा अभिनास बोहराले ११ रन जोडे । रोहित पौडेल २ रनमा पेभेलियन फर्किँदा दिलिप नाथ र सिदान्त लोहनी र साहब आलमले खाता नै खोल्न सकेन् ।

रुपन्देही च्यालेन्जर्सका ललितसिह भण्डारीले ४ विकेट लिए । पुनित मेहराले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । एलिमिनेटरको बिजेता क्वालिफायर्समा प्रवेश गर्नेछ । विराटनगर किङ्स पराजित भएपछि लिगको चौथो स्थानमा रहँदै महेन्द्रनगर एलिमिनेटरमा पुगेको हो । रुपन्देही तेस्रो स्थानमा रहेको टोली हो ।

आजको विजेताले क्वालिफायर्समा काठमाडौंको गोल्डेनसँग खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायर्समा काठमाडौं सिवाइसी अत्तरियासँग ४१ रनले पराजित भएको थियो ।

महेन्द्रनगरले फाइनलका लागि भोलि काठमाडौँसंग खेल्नेछ । यसअघि भएको क्वालिफायर्समा काठमाडौँलाई पराजित गर्दै अत्तरिया फाइनल प्रवेश गरेको थियो ।