वीरगञ्ज– कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशन समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन्।


ADVERTISEMENT


नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले एक वर्षमात्र कार्यकाल रहेपनि देउवा दुई वर्ष थप्ने दाउमा रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्तामाझ जाने र गइरहने बताउँदै कोइरालाले कांग्रेस कमजोर र संगठन शून्य बराबर भएको बताए।

‘हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कारबाहीको कुरा गरे भने मलाई केही भन्नु छैन,’ उनले भने।

कांग्रेस शेरबहादुर देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे डा शेखरले, ‘‘म को हुँ भन्ने मलाई हेक्का छ, म मेरो राजनीतिक संस्कार छाड्न सक्तिन, बरु कोइराला परिवारको संस्कारलाई अझ बरकरार राख्छु’’ भन्दै पार्टी सभापति देउवाको राजनीतिक संस्कार रहेछ भन्ने देखिएको टिप्पणी गरे ।

आफूले सभापतिको मानमर्दन नगरेको तर कांग्रेस कमजोर भएर जानुमा नेतृत्व नै असफल भएको भनी टिप्पणी गरेको उनले बताए ।

नेता कोइरालाले बहुमतले विधान पारित हुनु लोकतान्त्रिक विधि भएपनि आफू काठमाडौमा रहेको भए ‘नोट आफ डिसेन्ट’ लेख्ने बताए । तलबाट निर्वाचित भएर आउने प्रावधान नराखेकोमा आफूलाई मान्य नहुने बताउँदै कोइरालाले संरक्षित कोटामा पनि एक पटक मात्र हुनुपर्ने र अर्को पटकदेखि प्रतिस्पर्धाको आधारमा नै आउनुपर्ने व्यवस्थाको पक्षमा आफू रहेको बताए ।

भ्रष्टाचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइड बडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गर्न सरकार नै उद्दत रहेको टिप्पणी गरे। भने, ‘वाइड बडीमा जो–जो तानिए पनि कारबाही हुनुपर्छ। अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ।’

पछिल्लो पटक विप्लव माओवादीको गतिविधिले देश पुनः द्वन्द्वकै चरणमा फर्काउने कोसिस सुरु गरिएको बताउँदै भने, ‘‘उनीहरुसँग वार्ता पनि गर्नुपर्छ र अपराध गरे कानुनी कठघरामा पनि लैजानु पर्छ । दुबै विधिबाट सरकारले समस्या समाधानको बाटो खोज्नु पर्छ ।’’