शेरबहादुर सिंह, भीमदत्तनगर– सम्झौता गर्दा २०७३ असोजमै सक्नुपर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित धारापानी सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन ।


ADVERTISEMENT


दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको भए पनि पानीको मुहान (इन्टेक) तर्फको निर्माणको जिम्मा पाएको ‘आशिष कन्ट्रक्सन धनगढी’ले दुई पटक समयावधि थप गर्दा पनि काममा ढिलासुस्ती गरेको पाइएको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय निर्माण पक्ष सम्पर्कमा नआए पनि सिँचाइको पाइप बिछ्याउने काम गरिरहेको छ । दोस्रो पटक काम गर्न समय थप गरे पनि वर्ष दिन बितिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ ।सिँचाइ आयोजनाको नहर, कल्भर्टलगायत पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसित २०७२ असार २५ मा रु चार करोड १५ लाखको सम्झौता भएको थियो । कार्यालयबाट लिखितरुपमा ताकेता हुँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गर्दैआएको छ ।

“हालसम्म गरेको कामबापतको रु दुई करोड ६७ लाख भुक्तान लिइसकेको छ”, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तवले भने। कृष्णपुर नगरपालिकाको ३०० हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी सो आयोजना निर्माण थालिएको थियो ।

त्यसैगरी कष्णपुर नगरपालिकाकै बंक–नायल– बुडर सडकखण्डअन्तर्गत खार खोला र ओदाली खोलामा पुल निर्माण सम्झौता सकिएको एक वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पुल निमार्णको जिम्मा पाएको‘ थेगिम गाल्वा कन्सट्रक्सन’ले निर्माणमा गरेको बेवास्ताका कारण पुल कहिले बनिसक्ने भन्नेमा स्थानीयबवासी चिन्तित छन् । हालसम्म पुलको पिल्लर निर्माणबाहेक अरु कुनै काम भएको छैन ।

विसं २०७३ भदौमा ठेक्का सम्झौता भएको पुल निमार्णको काम २०७४ फागुनमा सक्नुपर्ने थियो । तोकिएको समयभन्दा एक वर्ष बढी बितिसक्दा पनि निर्माण कम्पनी मौन छ ।

वर्षात्को बेला पुल नहुँदा हिँडडुल गर्न समस्या हुने गरेको स्थानीयवासी सुनिल भण्डारीले बताए ।

पुल निर्माणमा निकै ढिलासुस्ती भएको छ । काम नगर्नेलाई छुट दिन नहुने उनको भनाइ छ । ओदाली खोलाको बीच भागमा एउटा मात्रै पिल्लर गाडिएको छ ।

खार खोलामा पिल्लर उठाउने काम सुस्त गतिमा छ । डिभिजन सडक कार्यालय कञ्चनपुरले पुल निर्माणमा बेवास्ता गर्ने उक्त निर्माण कम्पनीमाथि कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

खार खोलाको ६० प्रतिशत काम सकिएको छ । ओदाली खोलाको २५ प्रतिशत मात्रै काम भएको छ ।

डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टले पुल निर्माण कम्पनीलाई समयमै काम सक्न पटकरपटक पत्राचार गरिएको बताए ।

उहाँले कम्पनीलाई आगामी चैत मसान्तभित्र काम सक्न समयावधि दिइएको बताए ।

खार खोलामा पुल निर्माणका लागि रु ६ करोड ५९ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको थियो भने ओदाली खोलामा रु पाँच करोड ४७ लाख चार हजारमा ठेक्का सम्झौता भएको थियो । रासस