बलेवा – सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् । बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन् ।


ADVERTISEMENT


पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनियरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषासमेत सिकेर विवाह गरेकी हुन् ।


ADVERTISEMENT

# # #


दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी हुन् । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी गरेकी हुन् । विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत पुगेका थिए । केटीका अभिभावक नआए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस साथमा लिएकी थिइन् । सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताइन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।

‘अदालतमा रीतपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने ‘फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।’

कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताको उनले प्रशंसा गरे ।

तस्बिर : कान्तिपुर