काठमाडौं – ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातैजनाको शव दुर्घटनास्थल नजिकैको सुकेटार विमानस्थलसम्म ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरले बिहान बाँकी रहेका तीनवटा शव सुकेटार विमानस्थल ल्याएको हो । बुधबार चारवटा शव नेपाली सेनाको हेलिकोप्टरले ल्याएको थियो ।


ADVERTISEMENT


बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चारवटा शव सुकेटार ल्याएको थियो । त्यसपछि वर्षा र हिउँका कारण प्रयास असफल भएको थियो । बाँकी तीनवटा शव पनि बिहान त्यसैगरी ल्याइएको थियो । अहिले सुकेटार विमानस्थल क्षेत्रको मौसम खराब भएकाले शव काठमाडौं ल्याउन सकिएको छैन । नेपाली सेनाका हेलिकोप्टरबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


बुधबार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किएको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियर ध्रुबदास भोछिभयाको मृत्यु भएको छ ।

तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए । रासस