ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिन टुँडिखेलमा सर्वसाधारणको घुइँचो लागेको छ।


ADVERTISEMENT


त्रिवि शिक्षण अस्पतालबाट शव ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो। श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको हो।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाए।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे। नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए।

दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे।

श्रद्धाञ्जलि दिन सातै जनाको शव टुँडिखेलमा राखिएको छ । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो। शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको हो ।

शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो।

श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने बताइएको छ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको तारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।