इलाम– इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन सुरू गरेको छ ।


ADVERTISEMENT


अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६.१ मेगावाट भए पनि पिपीए सम्झौतामा ५.१ मेगावाट रहेको छ । ५.१ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि माबुमा अपरमाई हाइड्रोपावर निर्माण सम्पन्न गरी १२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । उक्त आयोजनाबाट खेर जाने पानी पुनः सदुपयोग गरी अपरमाई ‘सी’ बाट विद्युत् उत्पादन गरिएको हो । अपरमाई ‘सी’ अपरमाईकै क्यास्केट परियोजना हो । हालसम्म अपरमाई ‘सी’ हाइड्रोपावर सम्पन्न गर्दा रु ९५ करोड खर्च भएको निर्देशक प्रधानले बताए ।

नबिल बैंक, नेपाल बैंकजस्ता वित्तीय संस्थाले उक्त हाइड्रोमा लगानी गरेका छन् । धितोपत्र बोर्डबाट स्वीकृत भएपछि चाँडै नै स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर खोल्ने तयारी भइरहेको कार्यकारी निर्देशक प्रधानले जानकारी दिए। गत महिना नै निर्माण सम्पन्न गरी उत्पादन सुरू गर्ने लक्ष्यमा रहेको अपरमाई ‘सी’ को इलेक्ट्रो मेकानिकल कार्यमा समस्या आएपछि शनिबार परीक्षण उत्पादन सफल भएको थियो ।