काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठकमा अवरोध गरेको हो ।
मधेस, थरुहट आन्दोलनको सत्य तथ्य छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटको लागि स्थगित गरे ।
गत बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेस आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध गरेका थिए । लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गरेका थिए । आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन कार्यान्वयन नगरेको भन्दै संसदको मातहतमा सरकार छ कि छैन ? भनी प्रश्न गरे ।
उनले भने, “यो सरकार संसदबाट बनेको हा कि होइन थाहै हुदैन । यो संसद मातहत सरकार हो कि होइन ? संसदले बनाएको सरकार हो कि होइन ? यदि संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् संसदबाट सभामुखले गरेको ध्यानाकर्षण पनि ठूलो हो । संसदको आदेश र निर्देशनलाई पनि नमान्ने ? सरकारले अहिलेसम्म पनि प्रतिवेदन सार्वजनिक नगरेका कारणले यो प्रतिवेदन सार्वजनिक नभएसम्म हामीले संसद चल्न दिन्नौ । हामीले संसद अवरोध गर्छौ ।”