काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार राजनीतिक दल, संसद् र जनतासँग संवाद गर्न तयार नरहेको आरोप लगाए ।
आइतबार काठमाडौंमा कांग्रेसका महाधिवेशन उद्घाटन कार्यक्रममा महासचिव पोखरेलले रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दाहरूमा दलहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयत्न गरे पनि वर्तमान सरकार राजनीतिक दल, संसद् र जनतासँग संवाद गर्न तयार नरहेको आरोप लगाएका हुन् । उनले जनताबाट निर्वाचित प्रधानमन्त्रीले संसद् र संसदीय दलहरूलाई नचिन्नु तथा जनताका कुरा नसिन्नुले लोकतन्त्रको भविष्यमाथि नै प्रश्न उठाएको धारणा राखे ।
महासचिव पोखरेलले देश स्वेच्छाचारी शासन र अधिनायकवादतर्फ उन्मुख भइरहेको आभास भइरहेकोले लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस लगायत सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी शक्तिहरू पुनः एकपटक एकजुट हुनुपर्नेमा जोड दिए । विगतमा राणाशाही, पञ्चायत र राजा ज्ञानेन्द्रको तानाशाहीविरुद्ध संयुक्त रूपमा लडेजस्तै अहिले पनि लोकतन्त्र जोगाउन सामूहिक नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ ।
उनले इतिहासबाट पाठ सिक्न नसक्नेहरू सजायका भागीदार हुने भन्दै युवाहरूका सपना र आशालाई निराशामा बदल्न नहुने बताए । काङ्ग्रेसको १५औँ महाधिवेशनले इतिहासको गौरवलाई भविष्यको योजनामा बदल्दै नयाँ पुस्ताका भावना र चाहनालाई सम्बोधन गर्न उनले शुभकामना दिए ।
















