काठमाडौँ– सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुई महिनाअघि हालसम्म गरेको कामको प्रगति विवरणसहित कामनपाले विवरण बुझाउन आग्रह गरेपनि ठेकेदार कम्पनीले अहिलेसम्म विवरण पेश नगरेकाले ठेक्का रद्द गर्ने तयारी गरेको प्रवक्ता कार्कीले भने । “काम गर्छु भनेर सम्झौता भएको एक वर्ष बितिसक्दासम्म एक प्रतिशत पनि काम भएको छैन, यसरी बस्न सकिँदैन, समयमा काम गर्ने संस्था खोज्नुपर्छ । कम्पनीलाई हालसम्म गरेको कामको क्षतिपूर्ति दिएर ठेक्का रद्द गरिनेछ”, कार्कीले भने ।

लामो समयदेखि निर्माण कार्य रोकिएको भन्दै महानगरपालिकाले हरि कुँवरको नेतृत्वमा प्रगति विवरण बुझाउन गत महिना ठेकेदार कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीलाई कामको अवस्था, लाग्ने समयबारे विवरण बुझाउन पत्राचार गरेको थियो । हालसम्म न प्रगति विवरण न ठेकेदारले सम्पर्क गर्न नै आएको छ । बारम्बार जानकारी गराउँदा पनि कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिएको महानगरपालिकाको आरोप छ ।

सार्वजनिक खरिद ऐनले गर्दा कम्पनीसँग सिधै ठेक्का रद्द गर्न मिल्दैन, सम्झौता भएको हुनाले रद्द गर्ने समयमा पनि कम्पनीसँग प्रक्रिया पु¥यएर मात्र ठेक्का रद्द गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । ठेकेदार कम्पनीले केही समयअघि नै केही राजश्वसमेत तिरिसकेको छ ।

कामनपाले यसअघि पनि नियमित काम गर्नका लागि चेतावनी दिएको थियो । महानगर र निर्माण कम्पनीबीच दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर हालसम्म एक प्रतिशत पनि प्रगति नभएको कार्कीले जानकारी दिए ।

विसं २०७२ को शुरुदेखि टावरको निर्माण प्रारम्भ हुने भनिएपनि भूकम्पका कारण काम रोकिएको थियो । पहिले २५ तले बनाउने सम्झौता भएकोमा भूकम्पपछि टावर १२ तलाको बनाउने निर्णय गरिएको थियो । त्यसपछि नाकाबन्दीले गर्दा काम शुरु हुन सकेको थिएन ।

अनुमानित लागत साढे तीन अर्ब लाग्ने भन्दै पछिल्लो समयमा भएको सम्झौताअनुरुप कम्पनीले बनाउन लागेको १२ तले काठमाडौँ भ्यू टावरको निर्माण सुरु गरेको १८ महिनामा सक्नुपर्ने थियो । टावर निर्माणका लागि दुई पक्षबीच अघिल्लो फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । रासस